चीनमा सुरुङभित्र फसेका कामदारको उद्धार गर्न अझै दुई हप्ता लाग्ने


बीबीसी । चिनियाँ उद्धार टोलीले जमिनमुनि सयौँ मिटर तलको सुरुङमा फसेका कामदारहरुलाई बाहिर निकाल्न अझै दुई हप्ता लाग्न सक्ने बताएको छ ।

चीनको सानदोङ प्रान्तस्थित सुन खानीमा १० जनवरीमा एक ठूलो विस्फोटपछि प्रवेशद्वार बन्द भएको थियो । जसमा सरकारी निकायले एक हप्तापछि मात्र भित्र फसेका ११ कामदारहरुसँग सम्पर्क गर्न सकेको थियो । यसबीच एकजनाको मृत्यु भइकेको बताइएको छ ।उद्धारकर्मीहरुले भित्र बाँचेका कामदारहरुलाई ड्रिल गरी ससाना प्वालबाट खाना र औषधिहरु दिइरहेका छन् । विस्फोटको कारण भने अझै खुलेको छैन । भित्र फसेका समूहसँग कुरा गर्दा उनीहरुले आफूभन्दा तल फसेका एकजना कामदारसँग पनि सम्पर्क गर्दै आएको तर अहिले भने केही खबर नभएको बताएका हुन् । कामदारहरु सतहभन्दा धेरै तल फसेको हुनाले पनि निकाल्नमा कठिनाइ भइरहेको बताइएको छ । यससँगै अर्को समस्या भनेको उनीहरु फसेको ठाउँमा पानीको बहाव रोकिए डुब्ने जोखिम पनि रहेको छ ।

यिनै विभिन्न अवरोधका कारण सबैलाई सकुसल बाहिर निकाल्न कम्तीमा पनि अर्को १५ दिन लाग्ने लोकल पब्लिसिटी विभागका प्रमुख गोङ हैताओले बताए । विस्फोटको एक हप्तासम्म मानिसहरु जीवित हुनसक्ने कुनै संकेत थिएन । तर, गएको आइतबार उद्धारकर्मीहरुले तल झारिएको डोरीमध्ये एउटालाई कसैले तानिरहेको महसुस गरेका थिए । त्यसपछि भित्र फसेका कामदारहरुले एउटा पेपेर नोट पठाउँदै १२ जना त्यहाँभित्र फसेको जानकारी दिएका हुन् । उनीहरुमध्ये एकजना अझ तल फसेको पनि यसपछि पत्ता लागेको हो । ११ मध्ये पनि एकजनाको टाउकोमा चोट लाग्दा उनी कोमामा पुगेका थिए । जसलाई बिहीबार मृत घोषित गरिएको छ ।

चीनमा खानी दुर्घटना असामान्य मानिँदैन । गत वर्षको डिसेम्बरमा पनि चीनमा कार्बन मोनोअक्साइड लिक भएपछि कोइला खानीका २३ कामदारको मृत्यु भएको थियो । कार्बन मोनोअक्साइडकै कारण सेप्टेम्बरमा अर्का १६ खानी कामदारहरुको पनि मृत्यु भएको हो ।


Loading comments...