१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने


काठमाडौं। यही माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खोप लगाउने मितिबारे खुलासा गरेका हुन्।

प्रधानमन्त्री ओलीले खोपका लागि समूह तयार पारिसकेको उनले बताए। कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप लगाउने संकेत प्रधानमन्त्री ओलीले गरेका छन्।

सरकारले पहिलो चरणमा खोप लगाउन स्वास्थ्यकर्मीको लगत पनि लिइसकेको स्वास्थ्य मन्त्रालयले स्रोतले बताएको छ। स्रोतका अनुसार यस्तो लगतका लागि प्रत्येक जिल्लाबाट नाम लेखाउने काम शुक्रबार सकिएको छ।

भारतले सरकारले नेपाललाई उपहार स्वरुप दिएको १० लाख डोज कोराना विरुद्धको खोप बिहीबारमात्र काठमाडौं आइपुगेको छ। भारतको सिरम इन्सिट्युटले अक्सफोर्ड–एस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको कोभिशिल्ड नामको खोप नेपालमा लगाउन लागिएको हो।

यो खोप हाल भारतमा लगाइएको छ। र भारतमा यो खोप लगाएपछि केहीलाई सामान्य साइड इफेक्ट देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। नेपालले गत हप्तामात्र कोभिशिल्डलाई आपतकालीन उपयोगका लागि अनुमति दिएको थियो। यो खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरिएको छ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले पहिलो चरणमा अग्रभावमा रहेर कोरोना विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन्।


Loading comments...