Lifestyle Portal
  •   २३ फाल्गुन २०७७, आईतवार

नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना

१२ माघ २०७७, सोमबार २३:५७

हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र हुनका लागि हामी सँग आवश्यक सबै कुरा छन् तर हामी गर्दैनौं। किन होला? पहिले हामी देशमा आर्थिक विकास नहुनुको प्रमुख कारण पञ्चायती व्यवस्थालाई मान्थ्यौं। निरङ्कुशतालाई मान्थ्यौं। तर अहिले त प्रजातन्त्र छ। यो प्रजातन्त्रमा पनि विकासको गति किन कछुवा–चालको भएको होला?

यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण , प्रस्तुत गरेर देखाउँ , यहाँको धर्ती बाँझो छैन , यहाँको धर्ती बाँझो छैन , विकासको फुल फुलाऔँ , विकासको फुल फुलाऔँ…

दशकौंदेखि हामी भारतको एक संरक्षित एवं लाभदायक बजार बन्दै आएका छौं तर विभिन्न कुरा स्वदेशमा नै उत्पादन गर्ने प्रयाससम्म पनि गरेका छैनौं। पछिल्लो समय हामी चीनको एक भरपर्दो बजार बन्नेतिर लागेका छौं। चीनबाट पनि औद्योगिक आवश्यकताका होइन, दैनिक आवश्यकताका वस्तुहरू मात्र ठूलो परिमाणमा आयात गरिरहेका छौं। तर ती कुरा हामी स्वदेशमा नै उत्पादन गर्न सक्छौं।

“Nepal Has Abundance of Resources For Huge Industrialization”

हामीमा एउटा अनौठो प्रवृत्ति छ। देशभित्र जे जति समस्या छन् ती नेता, राजनीतिक दल एवं सरकारद्वारा सृजित भएको मान्छौं, ती समस्या सृजनामा आफ्नो, सामान्य जनताको, कुनै पनि किसिमको भूमिका देख्दैनौं। यसैगरी देशको आर्थिक विकासको लागि केवल सरकारलाई जिम्मेवार देख्छौं, आफ्नो भूमिका देख्दैनौं। हामी यो सोच्न र बोध गर्न मान्दैनौं कि नेता, सरकार तथा राजनीतिक दलहरूको जन्म हाम्रो समाजबाटै भएको हो, उनीहरू अर्को ग्रहबाट आएका होइनन्। भ्रष्ट प्रशासक, अस्थिर राजनीति एवं गैरजिम्मेवार नेता जन्म दिने हाम्रो समाज परिवर्तन गर्नेतिर हामी किन लाग्दैनौं? हामी आफूभित्र परिवर्तन ल्याउनेतिर किन लाग्दैनौं?

लेखकः विश्वराज अधिकारी

राजनीतिक व्यवस्थाको हिसाबले मेक्सिको र क्यानाडाबीच ठूलो अन्तर छैन। यी दुवै राष्ट्र प्रजातान्त्रिक व्यवस्था भएका मुलुक हुन्। दुवै मुलुकका नागरिकले उत्तिकै राजनीतिक स्वतन्त्रता पाएका छन्। मेक्सिको र क्यानाडा दुवै संसारकै सर्वाधिक धनी राष्ट्र अमेरिकाका निकट छिमेकी हुन्। मेक्सिको अमेरिकासँग टाँसिएको दक्षिणी छिमेकी हो भने क्यानाडा उत्तरमा टाँसिएको छिमेकी। यी दुवै राष्ट्रले अमेरिका, क्यानाडा र मेक्सिकोबीच भएको एक व्यापार सन्धि (United States-Mexico-Canada Agreement) अनुसार अमेरिकासँग व्यापार गर्ने उत्तिकै सुविधा पाएका छन्। तर मेक्सिको र क्यानाडाबीच आर्थिक, सामाजिक र राजनीतिक हिसाबले ठूलो अन्तर छ। मेक्सिको विकासशील मुलुक हो भने क्यानाडा विकसित मुलुक। मेक्सिकोको केन्द्रीय राजनीतिमाथि लागू पदार्थ तस्कर (Drug Lords) हरूको ठूलो पकड एवं प्रभाव छ भने क्यानाडामा एक स्वच्छ प्रशासनको। यसैगरी मेक्सिकोबाट प्रत्येक वर्ष सयौंको सङ्ख्यामा मेक्सिकन अवैधरूपमा अमेरिका प्रवेश गर्छन् भने क्यानाडाबाट त्यसरी केनेडियनहरू अमेरिका प्रवेश गरेको नगण्य सुनिन्छ। मेक्सिकोमा लागू पदार्थ तस्करहरूको बोलबाला छ र उनीहरूद्वारा प्रत्येक वर्ष सयौं निर्दोष नागरिकको हत्या हुन्छ भने क्यानाडामा त्यस्तो हुँदैन। मेक्सिकोमा औसत प्रत्येक दिन ९५ जनाको हत्या हुने गर्दछ। सन् २०१९ मा त्यहाँ ३५००० मानिसको हत्या भएको थियो।

यस्तो किन भएको होला? क्यानाडा र मेक्सिकोबीच यत्रो अन्तर किन देखिएको होला? उत्तर सजिलो छ। कुनै पनि देशको राजनीतिक, सामाजिक एवं आर्थिक व्यवस्था त्यहाँको जनताबाट निर्धारित हुने हो, सरकारबाट होइन। नेताबाट पनि होइन। यिनीहरू केवल माध्यम हुन्। यो तथ्य हामीले नबुझेसम्म, यस उपर गम्भीर नभएसम्म नेपालको आर्थिक, सामाजिक विकास तिब्र गतिमा हुने सम्भावना छैन।

आउनुस् अब नेपालमा औद्योगिक विकासका सम्भावनाबारे चर्चा गरौं। नेपाललाई आवश्यक पर्ने धेरै वस्तुहरू जुन अहिले कि भारत नभए चीनबाट ठूलो परिमाणमा आयात गरिन्छ, नेपालमैं उत्पादन गर्न सकिन्छ। उदाहरणका लागि नेपालमा अहिले निम्न आय भएका व्यक्तिहरूको हातमा राम्रो आय भएर उनीहरू मध्यम वर्गीय हुन पुगेका छन् र ती नवमध्यमवर्गीयहरूले ठूलो सङ्ख्यामा अनेक वस्त माग गरिरहेका छन्। ती वस्तुको माग नेपाली बजारमा ठूलो परिमाणमा छ। जस्तै अहिले मोटरसाइकलको माग नेपाली बजारमा ह्वात्तै बढेको छ। अहिले नेपाली उद्यमीहरूले नेपालमैं मोटरसाइकल उत्पादन गरेर बिक्री गर्ने हो भने राम्रो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाल अहिले मोटरसाइकलको राम्रो सुरक्षित एवं संरक्षित बजार भएको छ। तर यस अवसरको मौद्रिक फाइदा अहिले भारतले उठाइरहेको छ। भारतले प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा मोटरसाइकल नेपाल निर्यात गर्छ। कस्तो अचम्म! जुन अवसर हामीले जानीजानी गुमाइरहेका छौं त्यो अवसरको भारतले भरपूर उपयोग गरिरहेको छ। भारतले बर्सेनि नेपाली मोटरसाइल–बजारबाट करोडौं रुपियाँ कमाइरहेको छ। साधन भएर पनि हामी साधनविहीन भएको योभन्दा उत्कृष्ट अर्को उदाहरण के हुन सक्ला?

योजनाबद्ध किसिमले नभएपनि नेपालमा अहिले मोटरयोग्य सडकको लम्बाइ एवं सङ्ख्या दुवै वृद्धि भएको छ। तुलनात्मकरूपमा बढी व्यापारिक क्रियाकलाप हुने राजधानी काठमाडौंलाई अहिले सातवटा राजमार्ग (१. हेटौंडा–नारायणगढ–मुग्लिन–काठमाडौ, २. हेटौंडा–कुलेखानी–बल्खु–काठमाडौं, ३. हेटौंडा–पालुङ हुँदै काठमाडौं, ४. हेटौंडा –हुमाने–फर्पिङ हुँदै काठमाडौं, ५. हेटौंडा –मकवानपुर गढी–कान्ति राजपथ हुँदै काठमाडौं, ६. निजगढ–मकवानपुर, छतिवन–खोकना हुँदै काठमाडौं, ७. हेटौंडा –फर्पिङ– मातातीर्थ हुँदै कलङ्की काठमाडौं) हरूले तराईसँग जोडेको छ। यसैगरी देशका अनेक जिल्लामा पनि सडकको सङ्ख्या र लम्बाइमा विस्तार भएको छ। यो स्थितिले नेपालमा सवारीको सङ्ख्यामा व्यापक वृद्धि भएको बलियो सप्रमाण पुष्टि गर्दछ। यो कारणले गर्दा नै नेपालामा सवारीका साधन (ट्रक, बस, कार, जीप, भ्यान आदि) हरूको मागमा व्यापक वृद्धि भएको छ। अहिले नेपाललाई भारतले ठूलो सङ्ख्यामा सवारी साधन बिक्री गरिरहेको छ। नेपालबाट बर्सेनि करोडौं रुपियाँ आम्दानी गरिरहेको छ। नेपाल, सवारी साधन उत्पादन गरेर ठूलो सङ्ख्यामा बिक्री गर्न सकिने भरपर्दो बजार भए तापनि हामीले नेपालमैं सवारीका साधन उत्पादन गर्न सकेका छैनौं र यो अवसर जानीजानी भारतलाई प्रदान गरेका छौं। साधन र स्रोत भएर पनि हामी गरीब हुनुको यो अर्को एउटा थप उत्कृष्ट उदाहरण हो।

हामीले उन्नत प्रविधि प्रयोग गरेर एकीकृतरूपमा खेती गर्ने हो भने ठूलो परिमाणमा अन्न उत्पादन गरेर आत्मनिर्भर हुन सक्छौं, निर्यात नै गर्ने स्थितिमा पुग्न सक्छौं। तर हामीले यो अवसरको पनि उपयोग गर्न सकेका छैनौं। तराईका खेतीयोग्य धेरै जमीन घडेरीमा रूपान्तरित भएका छन् भने पहाडी भूमिको पनि उत्पादक किसिमले उपयोग गर्न सकेका छैनौं।

हामीले सेवाको क्षेत्रमा पनि अनेक किसिमका सेवा उत्पादन गर्न सक्छौं। नेपालको पर्वतारोहण विश्वमैं सर्वोकृष्ट छ। संसारभरका मुलुकका नागरिकले सगरमाथाको नाम सुनेको छ भने धेरैले नेपाल पुगेर सगरमाथामा पुग्ने चाहना गरेको सुन्न पाइन्छ। नेपालमा विश्वका अनेक मुलुकका नागरिकलाई आमन्त्रित गरेर पर्वतारोहण गर्न उनीहरूलाई अनेक किसिमका सेवा, सुविधा उपलब्ध गराएर हामीले बर्सेनि ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सक्छौं। तर यस्तो गर्न सकेका छैनौं। अनेक किसिमका प्रशासनिक झञ्झट खडा गरेर पर्वतारोहण व्यवसायलाई राम्रो आयको स्रोत बनाउन सकेका छैनौं। यो स्थितिमा पनि हामी साधन भएर गरीब बनेका छौं।

विभिन्न विदेशी राष्ट्रमा रहेका नेपाली दूतावासहरूलाई नेपालको पर्वतारोहण व्यवसायको प्रवद्र्धन गर्न प्रयोग गर्न सकिन्छ। राजदूतहरूलाई यो व्यवसाय प्रवद्र्धन गर्न बलियो माध्यम तुल्याउन सकिन्छ। विदेशमा रहेका नेपाली दूतावासहरूमा पर्वतारोहण मेला आयोजना गरेर विदेशीहरूलाई नेपाल आएर पर्वतारोहण गर्न उत्प्रेरित गर्न सकिन्छ। यो कार्यका लागि विदेशमा बसेका नेपालीहरूले विदेशस्थित नेपाली दूतावासहरूलाई सहयोग गर्नेछन् किनभने सबै नेपालीले आफ्नो मातृभूमिको आर्थिक विकास होस् भन्ने इच्छा राखेको हुन्छ। यो एउटा ठूलो अवसर हो। यो अवसरको हामीले भरपूर उपयोग गर्नुपर्छ।

नेपालले ठूलो परिमाणमा उत्पादन गर्न सक्ने अर्को वस्तु हो कपडा। कपडा उत्पादन, सम्पूर्णरूपमा, स्वदेशमा गरेर हामी कपडामा आत्मनिर्भर हुन सक्छौं। चीनबाट अहिले जस्तो ठूलो परिमाणमा आयात गर्नुपर्दैन। तर उचित र दीर्घकालीन योजनाको अभावले गर्दा अहिले हामी चीनबाट ठूलो परिमाणमा कपडा र लुगाफाटो आयात गरिरहेका छौं। आफूले कपडा उत्पादन गर्न सक्ने अवसर पनि जानीजानी गुमाइरहेका छौं।

नेपाल उच्च सम्भावनाले भरिएको देश हो। साधन र स्रोतले भरिएको देश हो। विश्वमा अनेक देशहरू छन् जोसँग स्रोत र साधन छैन। तर नेपालामा स्थिति त्यस्तो छैन। हामीसँग सबैथोक छ, नभएको केही छ भने–त्यो हो इच्छाशक्ति।

आपसी विश्वास, समझदारी, समन्वय र मेलमिलापको हामीमा अति अभाव छ। जबकि यी कुराहरू आर्थिक विकासका पूर्व शर्त हुन्।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ

काठमाडौं। माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी

राप्रपा अध्यक्ष कमल थापाले गठबन्धन सरकारको प्रस्ताव अस्वीकार गरी कांग्रेसले चुनावको बाटो खोलिदिनुपर्ने बताएका छन् । नेकपाबारे सर्वोच्च अदालतको पछिल्लो

एकपटक प्रयोग गरिसकेपछि तेललाई कुनैपनि बहानामा पुनः तताएर प्रयोग गर्नु हुदैन् । तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde) नाम गरेको