प्रचण्ड-नेपाललाई ओलीको प्रश्न- डेढ वर्षपछि त चुनावमा जानै पर्ला के गर्छौं बाबु हो ? (भिडियोसहित)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले बिहीबार बुटवलमा गरेको जनसभाप्रति कटाक्ष गरेका छन् । राजधानीमा शुक्रबार आयोजित महानगर कमिटीको भेलामा ओलीले २९ गते बुटवलमा बृहत् आमसभा गरेर देखाइदिने बताए ।

“फेरि उनीहरु दुईतिहाई लगभगका पार्टी फुटाएर विभिन्न टुक्राटाक्री जोडेर सरकार बनाउने खेलोमेलोमा लागिरहेका छन् । हिजो पनि उनीहरुले बुटवलमा ५-७ हजार मान्छे जम्मा गरेछन् । भुईंमा खुट्टा भएनछ,” उनले कटाक्ष गर्दै भने, “माथिमाथि खुट्टा टेकेर उफ्रिएर कुदेको देखियो । २९ गते त्यो ठाउँ सानो हुन्छ हामीलाई त्योभन्दा ठूलो ठाउँ खोजेर बृहत् आमसभा गर्नेछौं । त्यसपछि उनीहरुले थाहा पाउनेछन् ।”

२३ गते राजधानीमा हुने जनसभामा काठमाडौं जाग्नुपर्ने बताए । ओलीले निर्वाचन पर सार्ने हल्ला चलाएको भन्दै निर्वाचन एक दिन पनि पर नसर्ने जिकिर गरे ।

ओलीले प्रचण्डले बाँकी जीवन देशका लागि भनेको सुनेको बताउँदै प्रश्न गरे, “छोरी बुहारीलाई बन्दोबस्त भइसके छ होइन ? राम्रै बन्दोबस्त भइसकेछ ज्वाइँसापको । नातिनातिनीको पनि भइसकेछ क्यारे ?

उनले प्रचण्ड-नेपाल समूह चुनावबाट भागेको आरोप पनि लगाए । प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल अदालतमा गएर संसद पुन:स्थापना गर्न दबाब दिइरहेको बताउँदै भने, डेढ वर्षपछि त चुनावमा जानै पर्छ होला के गर्छौं बाबु हो ? बचेर कहाँ जाने ? जनतामाझ त जानै पर्ला ?”


Loading comments...