
झापादेखि चेक रिपब्लिकसम्मका सहभागीको ‘हल अफ फेम’
मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको लोकप्रिय ओटिटी प्लाटफर्म एमएनटीभी (MNTV) ले सञ्चालन गरेको नेपालको पहिलो भर्चूअल रियालिटी शो ‘हल अफ फेम’ सिजन २ को प्रतिस्पर्धा यतिबेला चलिरहेको छ । तेश्रो सातामा पाचौं एपीसोड शुक्रबार प्रशारित भयो । नेपाली समय अनुसार आज राति ८ बजेसम्ममा पहिलो चरणमा ५० प्रतिस्पर्धीको प्रस्तुति आम दर्शकले हेरिसक्नेछन् । जसमा विभिन्न १२ देशका प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रेजिना रिमाल समक्ष प्रस्तुत गरेका छन् र उनीहरुबाट टिप्पणी अनि गायकी अनुसारको अंक समेत प्राप्त गरेका छन् ।
एमएनटीभीका ब्रान्ड एण्ड मार्केटिंग म्यानेजर एवं कार्यक्रमका संयोजक रमन झाले कार्यक्रम अब नयाँ मोडमा प्रवेश गर्ने बताए । उनले भने, “सैयौं दर्शकबाट छानिएर आउनुभएका गायक गायिकाहरुबाट टप ५० छानेका थियौं । अब निर्णायकहरुको मतका आधारमा टप २७ को छनोट हुनेछ ।”
ताजा श्रृंखला हेर्नुहोस्ः
अष्ट्रेलियामा रहेर निर्णायकको भूमिका निभाइरहेका गायक विवेक श्रेष्ठले भने, “अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेममा काठमाडौंमा भएका वा नेपालमै रहेका प्रतिस्पर्धीलाई हामीले काठमाडौं बोलाइसकेका छौं । उनीहरुलाई हाम्रा निर्णायकहरुले उनीहरुलाई गायनको ज्ञान दिनुहुनेछ । उनीहरुले सुधार गर्नुपर्ने विषयमा सुझाव दिनुहुनेछ ।”
अर्का निर्णायक वरिष्ठ गायक दिप श्रेष्ठले अहिलेसम्मको प्रस्तुतिबाट आफु सन्तुष्ट भएको बताउँदै गायन क्षेत्रमा केही गर्नसक्ने साँच्चै लामो रेसका घोडाहरु आफुले भेटेको प्रतिक्रिया दिए । उनले भने, “हामीले उनीहरुको प्रतिभालाई सही मार्ग दिन सक्नुपर्दछ । उनीहरुको प्रतिभा निखार्नुपर्दछ । यसैकारण काठमाडौंमा आउनसक्नेलाई यहीँ उनीहरुका कमी कमजोरी र सबल पक्षबारे जानकारी दिन्छौं । काठमाडौं आउन नसक्नेहरुलाई हामी अनलाईनको माध्यमबाट नै यस्तो गर्नेछौं । हाम्रो मुख्य जोड नै प्रतिभाको प्रोत्साहन हो । कुनैपनि बन्धन या बाध्यताका कारण आम दर्शकश्रोतामाझ आउनबाट प्रतिभाले चुक्न नपरोस् भन्ने हो ।”