प्रचण्ड-नेपाल समूहको सन्देश – प्रतिगमन असफल पार्न जुनसुकै कदम चाल्‍न तयार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रतिगमन असफल पार्न र निरकुशतन्त्रको अन्त्यका लागि जस्तोसुकै पनि मूल्य चुकाउन तयार रहेको दाबी गरेको छ । कोटेश्वरको पेरिसडाँडामा बुधबार आयोजना गरिएको आकस्मिक पत्रकार सम्मेलनमा प्रतिगमन असफल पार्न र निरकुशतन्त्रको अन्त्यका लागि जस्तोसुकै पनि मूल्य चुकाउन तयार रहेको दाबी गरेको हो ।

‘संविधानतः यो सरकार प्रतिनिधि सभा विघटन गर्ने आफ्नो प्रतिगामी कदमपछि स्वतः काम चलाउ सरकारमा परिणत भइसकेको छ । तर त्यसपछि मन्त्रिपरिषद्को पुनर्गठन गर्ने असंवैधानिक कार्य गरिएको छ,’ संसद् विघटनपछि पनि भइरहेका नियुक्तिलगायतका सरकारका कामहरुप्रति आपत्ति जनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कामचलाउ सरकारको यस प्रकारको असंवैधानिक र दमनकारी क्रियाकलापलाई बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौं । प्रतिगमनलाई असफल पार्न र निरकुशतन्त्रलाई अन्त्य गर्न जुनसकै मूल्य चुकाउनु परे पनि हामी तयार रहेको कुरा स्पष्ट पार्न चाहन्छौं ।’

कामचलाउ सरकारले राष्ट्रिय भूमि आयोगका जिल्लास्तरीय अध्यक्ष र सदस्यहरुसँगै अन्य नियुक्तिहरु गरिएको, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ कानुन व्यवसायीहरुलाई लान्छित र अपमानित गर्दै धम्क्याउने काम भएको, अदालत र निर्वाचन आयोगलाई सार्वजनिक रुपमै दबाब दिइएको, नागरिक समाजको शान्तिपूर्ण आन्दोलनमा निर्ममतापूर्वक बल प्रयोग गरेर नागरिक अगुवाहरुमाथि आक्रमण गरिएको, प्रहरी प्रशासन र ‘सरकारी गुण्डाहरु’ ले आन्दोलनकारी युवा विद्यार्थीहरुलाई जथाभावी आक्रमण गरि घाइते बनाएको र सरकारी सेवामा रहेका कर्मचारीहरु र पेशागत समुदायलाई आतंकित बनाएको प्रचण्ड–नेपाल समूहको आरोप छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार बिहान गरिएको संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणलाई निरंकुशता, जोरजर्बजस्ती र निर्लज्जताको पराकाष्ठ भनेको छ । “आज शपथ ग्रहण गराउनु निरंकुशता, जोरजर्बजस्ती र निर्लज्जताको पराकाष्ठ हो,” पत्रकार सम्मेलनमा वितरित प्रवक्ता श्रेष्ठको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी यसको घोर भत्र्सना गर्दै खारेजीको माग गर्दछ ।”

नेकपाको प्रचण्ड–नेपाल समूहले ‘असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतिपूर्ण निरंकुश कदमको विरोध’ मा भन्दै बिहीबार देशव्यापी आमहड्तालको आह्वान गरेको छ ।

नेकपाका प्रवक्ता श्रेष्ठले संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुको बुधबार गरिएको शपथ ग्रहणको विरोधमा आमहड्ताल गरिएको बताए । उनले भने, “सरकारले गैरकानुनी रुपमा जबरजस्ती शपथ ग्रहण गराएको छ । यो असंवैधानिक कदमविरुद्ध बिहीबार आमहड्ताल गरिने भएको हो ।”

प्रचण्ड–नेपाल समूहले सरकारविरुद्धको आन्दोलनकै क्रममा आमहड्ताल आह्वान गर्नु आफ्‍नो बाध्यता भएको पनि प्रष्टिकरण दिएको छ । “प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैरसंवैधानिक, स्वेच्छाचारी एवम् दमनकारी क्रियाकलापको विरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ,” प्रचण्ड–नेपाल समूहले भनेको छ ।

प्रचण्ड–नेपाल समूहले बाध्यात्मक रुपमा घोषणा गर्नु परेको आमहड्तालको कार्यक्रमलाई समर्थन गररेर सहभागितासहित पूर्णरुपमा सफल पारिदिन अन्य राजनीतिक दल, दलका नेता–कार्यकर्ता, नागरिक समाज, पत्रकार, बुद्धिजीवि, प्राध्यापक, शिक्षक, पेशाकर्मी, उद्योगी व्यवसायी, यातायात व्यवसायी, मजदूर, युवा–विद्यार्थीलगायत आमनागरिकलाई अपिल पनि गरेको छ ।


Loading comments...