पाकिस्तानमा खोप अभियान सुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने


इस्लामाबाद– पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो ।

चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरु लाखौं डोज खोप पाकिस्तान ल्याउने र आम जनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ ।

सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् । करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ ।

तर सीमित संख्यामा मात्र परीक्षण गरिएकाले संक्रमित व्यक्ति र मृत्युको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ । सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञहरुले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ ।

अस्ट्राजेनिकाले उत्पादन गरेको खोप पनि करिब एक करोड ७० लाख डोज कोभाक्स मार्फत सन् २०२१ को पहिलो छ महिनाभित्र प्राप्त हुने पाकिस्तान सरकारले विश्वास लिएको छ ।

भारतले छिमेकी मुलुकहरुलाई केही खोप अनुदानमा दिइरहे पनि त्यो सूचीमा पाकिस्तान रहेको छैन ।


Loading comments...