भोलि देशभर के खुल्‍ने, के बन्द रहने ?


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार देशभर आमहड्ताल घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि सडक आन्दोलनमा रहेको प्रचण्ड-नेपाल समूहले माघ २२ गते देशव्यापी आमहड्ताल घोषणा गरेको हो ।

देश आन्दोलनमय रहेकै अवस्थामा माघ २१ गते बुधबार सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैरकानुनी ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारी एवम् सदस्यहरुलाई बलमिच्याँई गरि शपथ ग्रहण गराउने काम गरेको भन्दै बिहीबार देशव्यापी आम हड्ताल घोषणा गरेको प्रचण्ड-नेपाल समूहका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

संवैधानिक परिषद्को बैठकमा त्यसका एक सदस्य प्रतिनिधि सभाका सभामुखलाई प्रक्रियासंगत ढंगले उपस्थितिको लागि आमन्त्रित समेत नगरिएकोले बैठक नै अवैधानिक भएको प्रचण्ड-नेपाल समूहको ठहर छ ।

कोभिड–१९ को मारबाट मुक्त भई नसकेको वर्तमान अवस्थामा गर्न लागिएको आमहड्तालबाट हुने असहजताको निम्ति प्रचण्ड-नेपाल समूहले क्षमायाचनासमेत गरेको छ ।

भोलि हुने आमहड्तालमा के बन्द रहने ?
– यातयात
– पसल
– उद्योग व्यवसाय
– कलकारखाना र
– शिक्षण संस्थाहरु

के खुल्‍ने ?
– अस्पताल
– एम्बुलेन्स
– पानी, दुध, औषधीलगायत अत्यावश्यक सेवाहरु
– विद्यार्थीहरुको परीक्षा सञ्‍चालनमा अवरोध नगरिने


Loading comments...