हडताल आह्वान गरिएपछि सुरक्षा निकाय हाई अलर्टमा


काठमाडौं । सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएपछि दुई पक्षवीच झडप हुनसक्ने अवस्थालाई मध्यनजर गरेर सुरक्षा निकाय हाइ अलर्ट भएको छ। प्रहरी प्रधानकार्यालय स्रोतले दिएको जानकारी अनुसार आमसभा तथा आम हड्तालजस्ता कार्यक्रमहरु शुरु हुनथालेपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधानकार्यालयले उच्च सर्तकता अपनाएको छ।

नेकपाको नेपाल–दाहाल समूहले विहीबार आह्वान गरेको देशब्यापी आमहड्तालको क्रममा हुने संभावित झडपलाई रोक्न प्रहरी प्रधानकार्यालयले मातहत निकायलाई निर्देशन समेत दिइसकेको छ। काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहर र सदरमुकाममा झडप हुने आशंकासहित सुरक्षाकर्मीहरु परिचालित हुने प्रहरी प्रधानकार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा विहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि एसपीदेखि जवानसम्मलाई चुस्त पोशाकमा रहन निर्देशन दिइएको छ। साथै अन्य कार्यालयहरुमा पनि कार्यालय प्रमुखदेखि सबैलाई तयारी अवस्था रहन निर्देशन दिइएको छ।

उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका कर्मचारीलाई २४ घन्टे ड्युटीमा खटाइएको छ। उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई निषेधित क्षेत्र तोड्ने प्रदर्शनकारीलाई घुँडामुनि गोली हान्ने अधिकार दिएका छन्। जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई सबै अधिकार प्रत्योजन गरिएको जनाएको छ।

गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर आमहड्ताल गर्न नहुने र त्यो कानुन विपरित भएको जनाएको छ। नेपाल प्रहरीले देशभर सुरक्षाकर्मीहरु हाइअलर्टमा राखेपछि बुधबार रातीबाटै राजमार्गमा गस्ती शुरु गरिसकेको छ। राजमार्ग र अन्य क्षेत्रमा यातायात सेवा निर्वाध सञ्चालन गर्ने सरकारी योजना रहेको छ।


Loading comments...