कोभ्याक्सले नेपाललाई साढे २२ लाख डोज खोप उपलब्ध गराउने


काठमाडौं । कोभ्याक्सले नेपाललाई कोरोनाविरुद्धको साढे २२ लाख डोज खोप उपलब्ध गराउने भएको छ । कोभ्याक्सले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप २२ लाख ५६ हजार डोज उपलब्ध गराउने भएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ । यसअघि नेपाललाई भारतले सोही खोपको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।

सन् २०२० को अप्रिलमा विश्व स्वास्थ्य संगठन, युरोपियन कमिसन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड–१९ टुल्सको एउटा अंग कोभ्याक्स हो । गाभी, भ्याक्सिन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ ।

यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्ने छन् भने गाभी–कोभ्याक्स–एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप प्राप्त गर्नेछन् ।

नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो । नेपाललाई कोभ्याक्सले फेब्रुअरी अन्तिमसम्ममा साढे २२ लाख डोज खोप उपलब्ध गराउने बताइएको छ । कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम अनुमानित विवरण अनुसार दक्षिण एशियाका अन्य देशहरूले पाउने पनि खोप प्राप्त गर्ने भएका छन् ।

कोभ्याक्सअन्तर्गत भारतले नौ करोड ७१ लाख ६४ हजार डोज खोप उपलब्ध गराउने जनाएको छ । कोभ्याक्सले पाकिस्तानलाई एक करोड ७१ लाख ६० हजार डोज खोप र बंगलादेशलाई एक करोड २७ लाख ९२ हजार डोज खोप उपलब्ध गराउने भएको छ ।


Loading comments...