चिनियाँ खोपका विषयमा परराष्ट्र र दूतावासबीच ‘पत्र जुहारी’, तत्काल खोप लैजान चिनियाँ दूतावासको ‘चेतावनी’


काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएपछि चीनले पनि नेपाललाई खोप उपलब्ध गराउने प्रतिद्धता जाहेर गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीचको टेलिफोन वार्ताका क्रममा पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता चीनले जाहेर गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै जानकारी गरायो ।

यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको तीन लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो ।

चीनले खोप उपलब्ध गराउने भने पनि विश्वका विभिन्न मुलुकहरुबाट चिनियाँ खोपप्रति आशंका उत्पन्न भइरहेको छ । चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोपको ब्राजिलमा गरिएको तेस्रो चरणको परीक्षणमा क्रममा ५०.४ प्रतिशतमात्रै प्रभावकारी देखिएपछि आशंका उत्पन्न भएको हो ।

अक्सफोर्डले विकास गरेको खोप ७० प्रतिशत र फाइजर र मोर्डेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको अवस्थामा चिनियाँ खोप ५० प्रभावकारी भएको भन्दै पश्चिमा मुलुकहरुले प्रश्न उठाइरहेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ दूतावासले उपलब्ध गराउने प्रतिबद्धता गरेकोभन्दा दुई लाख बढी खोप अनुदानमा दिने बताएका छन् । वाङले परराष्ट्रमन्त्री ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । तर, उक्त टेलिफोन वार्ताको पछाडि विभिन्न घटनाक्रमहरु विकास भएका थिए ।

दूतावासलाई परराष्ट्रको पत्र
नेपालमा दुईवटा कम्पनीले चिनियाँ खोप आपूर्ति गर्नका लागि अनुमति माग गरेका छन् । खोप आपूर्तिका लागि खोप आपूर्तिका लागि नेपालको औषधि व्यवस्था विभागलाई दुईवटा कम्पनीले आवदेन दिएका हुन् । तर, उनीहरुले नेपालमा खोप आपूर्तिका लागि उपलब्ध गराउनुपर्ने कागजात भने उपलब्ध गराएका छैनन् ।

परराष्ट्र मन्त्रालले दुबै कम्पनीले मापदण्डको पालना नगरेको दूतावासलाई पत्रमार्फत् जानकारी गराएको छ । उनीहरुले नेपालको कानुनअनुसार दर्ता प्रकियाका लागि आवश्यक कागजात पनि उपलब्ध गराएका छैनन् । यसबारे परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको थियो ।

खोप ल्याउनुअघि प्रयोगका लागि उपयुक्त छ कि छैन भनेर अध्ययनपछि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने प्रावधान छ । तर, चिनियाँ खोप प्रयोगका लागि नेपाल सरकारले अनुमति पनि दिएको छैन ।

नेपालमा चिनियाँ खोप आपूर्तिका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ ले अनुमतिका लागि आवेदन दिएका छन् । ती मध्ये खोप आयातका लागि कुन कम्पनी आधिकारिक कम्पनी हो भन्ने दुविधामा नेपाल सरकार छ । उक्त दुविधापछि परराष्ट्र मन्त्रालयलले यसको आधिकारिकताबारे जानकारी गराउन दूतावासालाई पत्र पठाएको हो ।

दूतावासको ’चेतावनीपूर्ण जवाफ’
यस विषयमा चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई चेतावनीपूर्ण जवाफ पठाएको छ । तर, परराष्ट्रले सोधेको अनुमतिका लागि आवश्यक कागजात उपलब्ध र कम्पनीको आधिकारिकताबारेमा भने कुनै जवाफ दिइएको छैन ।

चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई आवश्यक कागजात पछि उपलब्ध गराउने र तत्काल खोप लैजानु भनेर प्रत्युत्तर पत्र पठाएको छ । चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सहज बनाउँदै नेपालका लागि विशेष व्यवस्थामार्फत् खोप उपलब्ध गराउने भएकोले तत्काल खोप लैजान दूतावासले परराष्ट्र मन्त्रलालयलाई भनेको छ ।

परराष्ट्रलाई पठाएको पत्रमा भनिएको छ, “चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड–१९ खोपहरूको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन र पु¥याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानुनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।”

त्यसैगरि सोही पत्रमा अहिले खोप नेपालले नलगे पछि उपलब्ध हुन नसक्नेसमेत चिनियाँ दूतावासले जनाएको छ । दूतावासले भनेको छ, “सिनोफार्म खोपको माग उच्च भएका कारण आपूर्ति निकै कठिन बन्दै गएको छ । चिनियाँ पक्षले नेपालका लागि भने विशेष व्यवस्था गरेको छ । यदि नेपाली पक्षले तत्काल सिनोफार्मले विकास गरेको खोप संकलन गर्न नसकेको अवस्थामा यो खोप अन्य व्यापारिक परियोजनका लागि वितरण गरिनेछ । त्यसपछि नेपालले चिनियाँ खोप पाउन निकै समय कुर्नुपर्ने छ ।”

हेर्नुहोस् पत्रको वास्तविक प्रति जस्ताको तेस्तैः

यो पनि पढ्नुहोस्ः

न्युयोर्क टाईम्स लेख्छ, “चीनले खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको थियो तर नतिजा उसैको लागि प्रत्युत्पादक भयो”


Loading comments...