दोषीलाई कडा कारबाही गरियोस् : भीम रावल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बैतडीकी किशोर भागरथी भट्टको हत्या घटनाको भर्त्सना गरेका छन् ।शनिबार ट्वीट गर्दै उनले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

नेता रावलले आफ्नो पार्टी अध्यक्षद्वयले घटनाको निन्दा गरेको र दोषीलाई कारबाहीको माग गरिसकेको स्मरणसमेत गराएका छन् । नेकपा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारै शोक वक्तव्य जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भट्ट गएको बिहीबार साँझ मृत अवस्थामा फेलापरेकी थिइन् । स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा शव फेला परेको हो ।

मृतकका आफन्त शिवराज भट्टले रासससित भनेका थिए, ‘‘मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन् । कपडा पनि च्यातिएको अवस्थामा छन् ।’’ ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताएका थिए । उनले रासससित भनेका थिए, ‘‘घटना हुनु निकै दुःखद् छ । घटनामा संलग्नलाई आवश्यक कारबाही हुनुपर्छ ।’’

घटनास्थलमा खटिएका खोचलेक प्रहरीचौकीका प्रमुख मोती बमले रासससित भनेका थिए, ‘‘बीच जंगलमा शव फेला परेको छ । कपडा खोलेको अवस्थामा छ । थप कुरा अनुसन्धानपछि थाहा होला ।’’


Loading comments...