म आफ्नै किसिमको- एक्लो पाठक


कन्फेसन

पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन भन्ने मत जति बलियो छ, स्तर बिस्तारै विकास हुँदै गरेको स्वीकार्ने तर्क पनि उत्तिकै दरिलो छ । तर, पाठक स्वयंको अनुभव व्यक्त हुने गरी बहस, छलफलको माहोल अझै बलियो बनिसकेको छैन । सहरमा बिस्तारै विकास भइरहेका अध्ययन र छलफलका चौतारी कत्तिको सार्थक भइरहेछन् भन्ने प्रश्नको घेरोमै छ । यो सन्दर्भमा कुमुदिनीलाई सम्झिनु उचित नै होला । शंकर लामिछानेलाई चोरीको आरोप लगाउने कुमुदिनीको वास्तविक नाम के हो, अझैसम्म प्रस्ट हुन सकेको छैन । उनले आफूलाई पाठकको रूपमै चिनाएकी छन् ! ‘चित्कार’ले २०३० पुसको अंकलाई पाठकांकका रूपमा प्रकाशन गरेको थियो । त्यसै अंकका लागि कुमुदिनीले लेखेको यो लेखले एक सचेत र जागरुक पाठकको स्तर कस्तो हुन्छ भन्ने अभिव्यक्त गर्छ । )

 

***

ज्यू, म पाठक नै हुँ । लाग्छ, मेरो ‘सिजिनल’ लेखकको अभिमानलाई, मेरो पाठकत्वले फेरि टुक्रयाउँदै छ । (म ‘पाठकाङ्क’कै लागि लेख्दै छु ।) धन्यवाद छ ‘चित्कार’लाई, जसले तथाकथित लेखकहरूले खडा गरेको ‘मनोपोलिस्टिक कम्पिटिसन’लाई भत्काउन ‘पाठकाङ्क’ निकाल्दै छ । सम्पादकहरूको एकतान्त्रिक अधिकारलाई पनि त यहाँ टुक्रिनुपर्नेछ । हो, म फेरि यो दाबी गर्ने हिम्मत गर्छु म पाठक हुँ । औसतन नेपाली पाठकहरूभन्दा मेरो पठनपरिधि व्यापक पनि छ । साथै म अझ यति भने हिम्मत पनि गर्न सक्छु कि मभित्रको पाठक औसतन स्तरभन्दा तल्लो दर्जामा पनि झर्ने छैन । तपाईं भन्नुहोला, यो मात्र आत्मश्लाघा हो, आत्मविज्ञापन हो । त्यसै रही । तर म त्यस्तै छु रे । कसको के जोर चल्छ ? सायद यो ‘लेख’ पनि हुने छैन । यहाँ म ‘लेखक’ होइन, ‘पाठक’ (मलाई पाठिका, लेखिका जस्तो क्षुद्र वर्गीकरणसित विरोध छ, यस अर्थमा म ‘पुरुष’ मानिन सक्छु ।) बन्न चाहन्छु । यो ‘पाठक’ले लेखेको ‘पाठ’ हो । यस्तो अभिमानी पाठकद्वारा लेखिएको-पाठ । (तर यस अहंकारलाई मैले आफ्नो कमजोरी ठान्ने गरेकी पनि छैन ।)

मेरो पाठकको जिज्ञासा धेरै पछि मात्र जाग्छ- नौ कक्षामा प्रवेश गर्दा ‘नेहरूका चिठीहरू’ हातमा परेपछि म जब त्यस पुस्तकको पहिलो पाठक- ‘प्रकृतिको पुस्तक’ (द बुक अफ नेचर) मा प्रवेश गर्छु, मेरो पाठकले एकाएक विशाल पुस्तक पाउँछ । उसको सोच्ने शक्तिले पनि त्यस्तै विस्तृत परिवेश पाउँछ । ऊ जीवनलाई हेर्ने कोणहरूको आफैं बिस्तार गर्दै जान्छ । ऊ जीवन कोण र विस्तृत आयामहरूमा फैलिन्छ । यी तिलस्मी आवरणमा अरू रहस्यहरू थुप्रँदै जान्छन् । यी सबै भएर पनि अझै उसमा, एउटा साँचो पाठकमा, अनिवार्यतः हुनुपर्ने अत्युच्च संवेदनशीलताको, आत्मप्रज्ञाको र आत्मालोचनाको विकास भइसकेको हुँदैन । मभित्र एउटा समालोचक-पाठक जन्मिसकेको हुँदैन ।

यस्तैमा, म पत्रपत्रिकातर्फ प्रवेश गर्छु, र मेरो यो पठनप्रवृत्ति हिन्दीका पत्रपत्रिकाहरू- ‘माधुरी’ ‘नवनीत’, ‘धर्मयुग’का चित्रहरू हेर्ने बानीदेखि बढेर ‘आज’ र ‘नवभारत टाइम्स’सम्म फैलिएको हुन्छ । पत्रपत्रिकामा पाइने हास्यव्यंग्य टुक्राहरू र कथाहरूदेखि मेरो पत्रिकाका ‘टेस्ट’ ‘डेभ्लप’ हुँदै जान्छ र अन्ततः म यसरी नै ‘सम्पादकीय’ र ‘सामयिक चर्चा’सम्म प्रवेश गर्छु । यहीँ आएर मेरो पाठकमा ‘क्रिटिकल सेन्स’को, आत्मालोचनाको विकास हुन्छ । यसपछि त ऊ आफ्ना अघिपछिका सम्पूर्ण घटना र स्थितिहरूमाथि, व्यक्ति र समाजका गठन र कार्यप्रक्रियाहरूमाथि आलोचनादृष्टि लिएर फैलिन्छ । (मलाई अपसोस छ कि मभित्र आलोचना धेरै पछि जन्म्यो ।)

यसै समयमा धेरै किताब मेरो पाठकका आँखाबाट गुज्रन्छन् । ‘कुनै चाखिन्छन्, कुनै खाइन्छन् र कुनै पचाइन्छन् पनि’, आदिदेखि अन्त्यसम्म । यसै समयमा ‘नेपाली दन्त्यकथा’, ‘चन्द्रकान्ता सन्तति’, ‘गोदान’ र ‘रूपमती’जस्ता किताबदेखि लिएर लेखनाथ, सोमनाथ, मस्ताना, कृष्णचन्दर, दत्त भारती, यशपाल, गुरुप्रसाद मैनाली, रुद्रराज पाण्डे तथा शङ्कर कोइराला कुख्यात, प्रख्यात तथा विख्यात साधारण- असाधारण सबै लेखक पढ्न थालिन्छ । मेरो पाठक यी सबैको बीचमा रहेर आफ्नो रुचि र आफ्नो ‘मौलिकता’को ‘परिस्कार’ (? ) गरिरहेको हुन्छ । उसको पठनशीलता वयसन्धिको एउटा संक्रमणकालीन स्थितिबाट गुज्रिरहेको हुन्छ । उसका सारा आस्था र विश्वासहरू, उसका महत्वाकांक्षा र रुचिहरू सबै यस्तै कटिलोपन र यस्तै अन्तर्विरोधमा बाँचिरहेका हुन्छन् । भविष्यजीवनको दिशानिर्धारण गर्ने प्रवृत्तिहरू पनि आफ्नो दौडमा प्रतिद्वन्द्वीहरूसित अगाडि बढ्दै हुन्छन् । वयसन्धिको जुन संकटकालीन म्होंकाबाट म बढ्दै थिएँ, त्यो अवस्था त प्रत्येक पाठकमा एकपटक न एकपटक जरुर आएको हुन्छ । यही स्थितिको राम्रोसँग हिफाजत गर्नेहरू उच्च बौद्धिक तहमा पुग्छन् भने, अरू आजीवन प्यारेलाल ‘आवारा’ र कुशवाहकान्तकै किताबभित्र हराइरहेका हुन्छन् । म यस्तो स्थितिबाट जसरीतसरी मुक्त भएँ, (धन्यवाद छ मलाई ।) यहाँसम्म आएर भूत-जीवन हेर्नु रुचिकर नभएर पनि कष्टप्रद छैन । म आज पनि केही हदसम्म हजारन् विरोधाभास र द्विविधाहरूमा बाँच्दै छु- यो पनि मेरो पाठकको कमजोरी थियो ।

म फेरि भन्छु, आज, मेरो पाठकको अध्ययन परिधि सामान्यतः त्यति अविस्तृत छैन । म आज पनि, यद्यपि नागार्जुनको शून्यवाद र उपनिषद्का दर्शनसूक्तिहरूदेखि लिएर मस्तानाको मस्तानावादसम्म, वात्स्यायनका कामदर्शनदेखि लिएर फ्रायड, रसेल र हैबलक एलिसका यौनदर्शनदेखि, देवकीनन्दन खत्री, वेदप्रकाश काम्बोज, रानू र गुलसन नन्दादेखि लिएर राजकमल चौधरी र मुक्तिबोधसम्म, ‘मदनलहरी’, ‘तोतामैनाको कथा’, सुवास, युधीर थापा, शंकर कोइरालादेखि लिएर शंकर लामिछाने, पारिजात र मञ्जुल राल्फासम्म आएर फ्लेमिङ, कानन डायल र हैरोल्ड रबिन्सदेखि दोस्तोएब्स्की, काफ्का, कामु, मोराबिया र सात्र्रसम्म, सोक्रेटिजदेखि नित्से, मार्कुस र समसम्म, मनु र प्लेटो, मिल र माक्र्सदेखि ब्रान्ट, निक्सन, चे, माओ र कैस्ट्रोसम्मका परिधिभित्र आफूलाई निद्र्वन्द्वतः छोडिएको पाउँछु ।

मेरो मनभित्र एउटा ठूलो प्रश्न, ठूलो शंका पनि उब्जन्छ- यी सारा लेखक-अलेखकका भीडमा म मेरो पाठकलाई कहाँनिर राखूँ ? तर यो समस्या छिट्टै हल हुन्छ, किनभने मलाई थाहा छ, म जे पढ्छ- म त्यसैको लेखकसित पूरा आत्मसात् गरिरहेकी हुन्छ । लेखकको भनाइको बोक्रेपना र गहनतासित म, सँगसँगै उर्लिरहेकी हुन्छु, ‘डाइभ’ गरिरहेकी हुन्छु, पौडिरहेकी हुन्छु । त्यसैले यसको पनि जवाफ हुन सक्तैन कि म कहाँनिर अट्छु ? (यसको भनाइ यो पनि होइन कि मलाई कुनै पनि लेखक, जस्तो पनि किताब मन पर्छ ।) मेरो पाठकले त आंशिक हदसम्म कुनै पनि लेखकबाट क्षणिक मानसिक तुष्टि पाएको हुन्छ । यही मानसिक तुष्टिको अवधि (सरी, यहाँ लेखकले पनि पूरा हस्तक्षेप गर्छ ।) जति लामो हुन्छ मेरो लेखक या किताबप्रतिको आग्रहमा पनि उत्तिकै वृद्धि हुन्छ । यही ‘मानसिक तुष्टि’ले नै मेरो पढ्ने चाहनाको ‘निर्माण’ गर्छ ।

त्यसैले मैले लेखकले दिएको विषलाई पनि मन्थन गरेर आफूमा जीवनशक्ति भर्न सकेकी छु भने मैले उसले दिएको ‘अमृत’को ‘कामना’लाई पनि तिरस्कार गरिदिएकी छु । यही हो, मेरो पाठकको विशेषता जहाँ असंख्य स्तरका ‘लेखक’हरूको पूरा ‘वर्गसमन्वय’ छ, मभित्र उनीहरू ‘सहअस्तित्व’मै बाँच्छन् ।
(थाहा छैन, यो मेरो पाठकको संस्मरण हो या आत्मप्रचार हो । तर यति निश्चित छ, म मेरै पाठकका बारेमा लेख्दै छु ।)

मेरो पाठकप्रति मलाई गर्व छ, तर म आफ्नो सम्झने शक्तिप्रति कहिल्यै धनात्मक दृष्टि लिन सकिनँ । (म सोच्छु, सायद यही अवस्थालाई मानसिक रोगको अवस्था भनिन्छ । यही अवस्थामा मैले ‘राँची’ पुगे हुन्छ । सबैको भनाइ पनि छ, ‘तेरो ‘ऊ’ खुस्केको छ, कमसेकम पचहत्तर प्रतिशत ।”) मैले आफ्नो अध्ययनपरिधि जति व्यापक बनाएकी छु, मेरो सम्झनाशक्ति त्यति लोप हुँदै छ । (सायद ‘पाठक’लाई त्यति सम्झने जरुरत पनि पर्दैन केरे ।) तर पनि मलाई ‘स्कुल’का पाठ्यक्रम देखेर पूरा झोँक चल्छ । यसरी त मान्छे एउटा ‘टाइपराइटर’को स्तरको ‘मान्छे’ मात्र बन्न सक्नेछ । यहीँ, मेरो अध्येता अरू स्वतन्त्र हुन्छ र उसको ‘मुड’ जाग्छ कि तुरुन्तै एउटा सस्तो हिन्दी जासुसी पत्रिकामा कथा लिएर पढिरहूँ-पढिरहूँ ।

मेरो यही विक्षिप्तताप्रति (दिमाग खुस्कनुसित मेरो के विरोध हँ ? ) मलाई सन्तुष्टि पनि छ । तर म शंका गर्छु- यसरी, के मेरो पाठकको हत्या गर्न, म-व्यक्तिलाई, विवश त हुनुपर्ने छैन ? के म ‘ग्रेगर साम्सा’ (मेटामर्फोसिस : काफ्का) झैं एउटा ‘गिगेन्टिक इन्सेक्ट’ बन्ने दिशातर्फ गइरहेकी त छैन ? के म दोस्तोएब्स्की, कामु र सात्र्रका ‘चरित्र नायक’हरूको जस्तो विक्षिप्तानुभूतिको एउटा निरर्थक जीवन गुजार्ने स्थितिमा त पुग्दै छैन ? यहीँ आएर, म मेरो खोक्रो पठनमा- (र अधीतिमा पनि ।) बे्रक लगाउँछु । इलियटको ‘द वेस्ट ल्यान्ड’लाई मिल्काइदिन्छु । ममा मलार्मे र रिम्बोका प्रतीकविधानप्रति कुनै रुचि शेष रहँदैन । म केवल ‘गोदोलाई प्रतीक्षा’ गर्न थाल्छु ।

बैरागी काइँला र मोहन कोइरालाका बौद्धिक कूटनीतिसित मलाई झोँकमात्र चल्छ । म मार्लो र टेनिसनहरूलाई- ‘डनक्विजट’कै समानान्तरमा हेर्न चाहन्छु । त्यस्तो त म गान्धीप्रति सन्तुष्ट भइनँ, तर यस्तोमा झन् म उसलाई ‘भुस्याहा कुकुर’भन्दा बढी देख्दिनँ । सेक्सपियरलाई ब्रिटिस इम्पायरको ‘अन क्राउन्ड किङ’ भन्नेसित उत्तिकै रिस उठ्छ । देवकोटाको नाममा खडा गरिएको ‘हौवा’लाई म व्यथित सञ्चालनमा चलेको ‘प्रज्ञाप्रतिष्ठान’भन्दा ज्यादा देख्दिनँ । लाग्छ, देवकोटाको अतिख्याती केवल, ‘व्यक्तिपूजा’ गरेर- साहित्यको अवमूल्यन गर्नुमात्र हो । ‘तेस्रो आयाम’ले चलाएको ‘भाँडभैलो’ र ‘बौद्धिक पहलमानीका दाउपेच’ देखेर म ‘साहित्य’कै नाममा एकपटक थुकिदिन्छु । नित्से र सात्र्रका विकलताहरू, माइकल हार्परतकका विद्रोहहरू, राल्फाको (‘प्रगतिशील’) असन्तुष्टिहरूप्रति म सन्तुष्टि-क्षणिक सन्तुष्टि पनि पाउन सक्तिनँ । जम्मै केवल एउटा विडम्बना लाग्छ, सबै केवल प्रवञ्चना मात्र ।

हो, अतिपाठकको मनस्थिति चञ्चल हुन्छ । उसको सम्झने शक्ति लोप हुन्छ, उसको विक्षिप्तता बढ्दै जान्छ । म जति धेरै पढ्छु, त्यो भन्दा ज्यादा बिर्सिदिन्छु । ‘जेनेटिक्स’का अत्याधुनिक खोज र अनुसन्धानहरूलाई भियतनाम र मिडिलइस्टको युद्ध इतिहासलाई धेरै पटक पढेँ हुँला तर केही थाहा छैन । (के यसैलाई कसैले ‘पैले बुझ्न कठिन, बुझ्यो उति कठिन, बुझ्दै गयो झन् कठिन ।’ भनेको त छैन ? ) ‘कुमारसम्भव’ पढेँ तर त्यसको छायाँ या त समग्रतामा या सातौं र आठौं सर्गसम्म मात्र सीमित छ । ‘छेकुडोल्मा’ तीन/चार पटक पढेँ, हेगेल पढेँ, तर उनीहरूको ‘समन्वयवाद’ र ‘द्वन्द्ववाद’ले मेरो वर्ग ‘समन्वयवाद’माथि विजय पाउन सकेन । ‘नाना’ र ‘अन्ना केरेनिना’का पात्रपात्रा र घटनाहरूमा सधैं मलाई कन्फ्युज हुन्छ ।

‘द वेस्ट ल्यान्ड’को पनि उही गति छ- बुझेका कुरा पनि सम्झन सकिनँ । ‘नियमित आकस्मिकता’मा पनि मैले धोका खाएँ । फ्रासिन्सी प्रतीकवादले, हिन्दी प्रयोगवादले, जापानी हाइकुले र पिकासोको घनवादले पनि त्यसरी नै थन्किनु पर्‍यो । सोल्झेनित्सिनलाई मैले ‘वन डे इन द लाइफ अफ आइमन डेनिसोबिच’मा पढेँ- तर त्यहाँ मेरो दिमागले तथाकथित ‘प्रतिक्रियावाद’ पाउन सकेन । कति उपन्यासका नाम बिर्सें । किताबका अंशहरू, कविताका पंक्तिहरू र कुनै पनि ‘शास्त्र’का परिभाषाहरू- मलाई एउटा पनि कण्ठस्थ छैन । कति पत्रपत्रिका (म पत्रपत्रिकाहरूमा ‘स्क्रिन’, ‘रमन्ते’देखि ‘सिउँडी’, ‘यन्त्रणा’ र ‘आलोचना’सम्म ‘तरुनी’ र ‘नरनारी’देखि ‘कन्फिडेन्टल एड्भाइजर’सम्म ‘दिनमान’ र ‘सञ्चय’देखि ‘न्युजविक’सम्म तथा ‘क्रिस्चियन साइन्स मनिटर’ देखि ‘विक्ली मिरर’ र ‘हिमाली बेला’सम्म हेर्छु) लाई मैले किनेर एकैपटक पनि नहेरी थन्क्याएकी छु, यसको पनि लेखाजोखा छैन । कति खबरकागजमा यसरी पैसा फाल्ने गरेकी छु, त्यसको तथ्यांक पनि म अन्दाज गर्न सक्तिनँ । यही हो, मेरो पाठकको खुबी ।

त्यस्ता कति घटना छन्, जहाँ आएर मेरो विवश (सहस्रौं कारणबाट विवश ।) पाठकमाथि मेरो व्यक्तिको नियन्त्रण आवश्यक हुन्छ र म कैयन् घन्टासम्म पनि मन मारेर रोइरहेकी हुन्छु । यसभन्दा बढी के होस् र पाठकज्यू । मेरो पाठक, ‘सर्वशक्ति सम्पन्न, सर्वद्रष्टा परब्रह्मा’ त होइन नि । (जो केवल कागजकथामा बाँचोस्) इलेक्ट्रोनिक्सदेखि, एन्टिम्याटरदेखि इशावास्योपनिषदसम्म फैलिएको आफ्नो पाठकको सुविशाल क्षेत्रदेखि पनि मलाई धेरै विरक्ति लाग्ने गरेको छ । कैयन् पुस्तकालय र कैयन् बुकस्टल चहार्दा पनि मेरो पाठकले आफूले पढ्न चाहेका किताब पढ्न पाइरहेको छैन र यसमा मलाई ठूलो सहानुभूति छ- आफैंमाथि । ‘द सेटिङ सन’ पढ्न पाएकी छैन, ‘क्यान्सर वार्ड’ पनि भेटेकी छैन, न मैले ‘वन डायमेन्सनल म्यान’ नै हेर्न पाएकी छु ।

सात्र्रका चारपाँचवटा किताबहरू, कामुको ‘द मिथ अफ सिसिफस’ मदनमणि दीक्षितको ‘कसले जित्यो, कसले हार्‍यो’, राजकमल चौधरीको ‘देहगाथा’, इलियटको ‘फोर क्वार्टेट्स’, आचार्य रजनीशका अधिकांश दार्शनिक चिन्तनसाहित्यहरू, मृत ‘तेस्रो आयाम’ पत्रिकाका पुराना प्रारम्भिक अंकहरू आदि आदि कैयन् किताब पुस्तिका र पत्रपत्रिकाका नाउँ म गिनाउन सक्छु, जसका लागि मेरो पाठकले दिनरात सपना-दिवासपना देख्ने गरेको छ । हो, उसको यही इच्छापूर्तिको अभावमा नै उसलाई जे पायो-त्यसैमा ‘सन्तुष्टि’को खोज गर्ने गर्नुपर्छ । ऊ मस्तानाका शरणमा जान्छ, निक कार्टर, युधिर थापा र कर्नल रञ्जितकहाँ आ श्रय खोज्न पुग्छ । यहीँ उसलाई विश्वामित्रको- ‘मानजी’ र ‘सोल्टीमाथि साँढे, साँढेमाथि पाँडे’ कहाँ पनि आत्मसमर्पण गर्नुपर्छ । खुसीको कुरा, एउटा सौभाग्यको कुरा यो छ कि उसले यस्तो पलायनमा पनि सन्तुष्टि पाउन थाल्छ ।

आज, म घटनाहरूलाई पढ्छु । ‘एब्स्ट्र्याक्ट आर्टका चित्र जस्ता मित्र’ (एउटा मिनी हिन्दी कविता ।)का जीवनलाई पढ्छु । वहिदा रहमानको जीवनलाई पढ्छु, माओको रेडबुक पढ्छु । (कहिले-कहिले मेरो पाठक आफूप्रति यति ‘निरपेक्ष’ हुन्छ कि उसलाई यी दुवैमा कुनै भिन्नता भेटिँदैन ।) त्यस्तै, ‘दास क्यापिटल’ कहिल्यै नछोएर पनि म त्यसको ‘गहनता’बाट धेरै त्रसित छु । गोर्कीको ‘आमा’सित पनि मेरो यस्तै ‘अनुभव’ छ ।

म यहाँ स्थितिहरूमा पुनर्जन्म पाउँछु । मलाई एउटा जीवन ज्यादै अपर्याप्त लाग्छ र म अरूका जीवनभित्र बाँच्न चाहन्छु । के यसरी, जीवनलाई बारबार जिउनु बाध्यता होइन र ? होला, तर म त्यही बाध्यताबाट पनि सन्तुष्टि पाउँछु । लाग्छ, मेरो बाध्यता नै ‘एउटा धुतुमुने छोरो’ हो- सात/आठ वर्ष आफ्नी स्वास्नीसित एउटै बिछ्यौनामा सुतेर पनि एक पटक ऊसित नबोलीकन जन्मेको ‘धुतुमुने एउटा छोरो ।’ मेरो लाचारीमा पनि सन्तुष्टि छ भोकभोकै डोको बोकेर जीवनशक्ति खर्च गर्नेहरूको क्षणिक भारीबिसाइमा उब्जेको एउटा असीम सन्तुष्टिजस्तो । त्यसैले यहाँ असन्तुष्टि छ- जीवनको निरर्थकतासित थाकेको असन्तुष्टि । (यही विरोधभास नै मेरो पाठकको पनि जीवन हो ।)

म यहाँ कुनै पनि स्थिति र कार्यप्रक्रियाहरूमा कुनै पनि पुस्तकमा भन्दा ज्यादा पढ्ने मसला पाउँछु । तर, यही पढ्नुमात्र कुनै पनि चेतनाशील पाठकको शक्ति हो । यसभन्दा धेरै उपलब्धिको चाहना ममा छैन । न मलाई विख्याति चाहिएको छ, न मलाई कुख्यातिसित नै विरोध छ । मलाई सिर्फ मान्छेपन चाहिएको छ । ममा आफूभित्र नित्सेको ‘सुपरम्यान’ जन्माउने आकांक्षा पनि छैन- न म ‘नन-पर्सन’ बन्ने चाहनामा आफ्नो जीवनकाल गुजार्दैछु । मलाई- मेरो सीमाहरूको र मेरा अशक्तताहरूको बोध छ- मलाई, त्यसैले ‘उडी, छुनु चन्द्र एक’ महत्वाकांक्षामा घृणामात्र उब्जन्छ ।

तर पनि, मैले पढ्न छोडेकी छैन- म पाठक हुँ । यहाँका बहिदार ठिटीहरूलाई देख्दै आपूmलाई असहाय, अशक्त र अपमानित मात्र सम्झने निर्देशक- सचिव मेरा पुस्तक हुन् । जबरजस्ती बिहा गरेर पठाइएकी छोरीले ३ वर्षभित्रै सन्तान जन्माएको देखेर उसको वैवाहिक जीवनको ‘सुख’मा सन्तुष्टि लुट्ने आमाबाबुहरूले पनि मलाई धेरै कुरा पढाएका छन् । नारीजातिको सुकुमार र चोखो सिंगो शरीर आफूले पाएर या कसैलाई दिएरमात्र प्रमोसन पाउन चाहने पुरुष र स्त्रीहरूको बगालको बगालले पनि मेरो पुस्तकको अर्को पृष्ठ रंगिएको छ । बालकृष्ण समद्वारा, तुलनात्मक रूपमा, रिक्सावालको असम्पनाता हेरेर (? ) रिक्सा चढ्नु (भद्रकालीनगिचैको, मिति २०२९/३/१६ को १० बजेको घटना) पनि मेरो पाठ लम्ब्याइदिनु हो । म पढ्छु, एकैचोटि आठ महिनाको बच्चा र आफ्नी ‘प्रेमिका’लाई घरभित्र भित्र्याएर आफ्नो ‘प्लेटोनिक प्रेम’को ‘सच्चा बहादुरीपन’ सिद्ध गर्ने युवकहरूबाट पनि धेरै रहस्यमयी पाठ।

आफ्नो लगौंटिया यारदोस्तसित पनि आफ्नो असम्पन्नतालाई सम्पन्नताको आवरणमा छोप्न गरिएका कैयन् रुचिका प्रसंग पनि मेरा पाठ हुन् । छाक टार्न नसकेकी युवतीले लिपस्टिकमा बीसौं रुपियाँ महिनावारी खर्च गरेर आफ्नो सौन्दर्यवासनामा बढौती गर्नु तथा आफ्नी सोझी प्रेमिकालाई ठगेर-लुटेर बेलबटम प्यान्ट किन्ने भद्र युवतीयुवकबाट पनि मैले धेरै कुरा पढेकी छु । यहाँका सरकारबाट, उच्छृंखल ‘जनतालाई भंग गरेर तिनको पुनर्गठन गर्नु’ (ब्रेख्ट) पर्ने नीतिबाट पनि मैले प्रजातान्त्रिकताको ‘सुमधुर’ पाठ पढेकी छु । केदारमान ‘व्यथित’को भक्ति, प्रज्ञाप्रतिष्ठानको व्यवस्थाभक्तिबाट पनि मैले धेरै सिकेको छु ।

यहाँ, विशेषतः नेपालमा पुस्तकको कमी छैन । शोषणविहीन समाज जनहित र जनसुरक्षा तथा जनसुविधाको र आर्थिक सम्पन्नताका आकर्षक रूप पनि एउटा मीठो पुस्तक हो । व्यवस्थाका आडमा रहेर, व्यवस्थाको स्तुति र विज्ञापन गरेर, व्यक्तिविशेषको पूजा गरेर सर्वसाधारणलाई बदनाम गर्दै, उच्च बौद्धिकताको सर्वोच्च तहमा पुग्ने साहित्यिकहरूबाट तथा मोटर र बंगलाको भत्ता पाउन पत्रपत्रिका निकाल्ने पत्रकार बन्धुहरूको देशभक्तिपूर्ण रवैयाबाट पनि मैले त्यत्तिकै सिको पाएकी छु- जति, ‘एनिमल फार्म’को त्यस प्रजातान्त्रिक समानता र अधिकारप्राप्त समाजबाट, जहाँ ‘सबै सुँगुर बराबर छन् र सेता सँगुरहरू अझ बढी बराबर छन्’ भन्ने राजनीतिक नाराबाट सिकेकी छु ।

त्यस्तै बुद्धिजीवीहरू व्यवस्थाका लागि खतरनाक हुन्छन् भन्ने आफ्नो निर्णय पनि मैले व्यवस्थाको अगाध र अपरम्पार ‘पवित्र’ पुस्तक पढेर लिएकी हुँ । (व्यवस्थालाई धन्यवाद छ ।) म जस्तै, काफ्का र कामुका दुईचारवटा कोटेसन र केही बौद्धिक सूत्रहरूका अत्यल्प खुराक खाएर पनि आफ्नो विद्वता र आफ्नो बौद्धिकताको, आफ्नो आत्मपाण्डित्य र आत्मस्तुतिको विज्ञापन गर्ने लेखक-साहित्यिकबाट पनि मैले बौद्धिकताको उच्च स्तरसम्म पुगेको दावा गर्नसक्ने बुटी पाएकी छु । जनताको रगत चुस्दाचुस्दै आफ्नो भुँडीभित्रै शोषणविहीन साम्यवादको सपना देख्ने प्रगतिशील पच्छे महानुभावहरूले पनि मलाई धेरै सिकाएका छन् । विश्वशान्तिका नाममा भियतनाममा, कम्बोडिया र लाओसमा, चेकस्लोभेकिया र बंगलादेश, क्युबा र मध्यपूर्वमा भइरहेका भीषण मानवहत्या र बमवर्षणले पनि मलाई विश्वबन्धुत्व र विश्वमानवतावादका पाठ पढाएका छन् । गोरो शरीरबाट कालो शरीरलाई दिइएको समान अधिकार, चीनमा सांस्कृतिक क्रान्तिको नाममा भएको ‘शुद्धीकरण’ आदि पनि मेरा लागि रोचक उपन्यासभन्दा ज्यादा महत्वपूर्ण छन् ।

कुनै यौवनोन्मादले उन्मक्त कामिनीको कोखमा खेलेको कुकुर देखेर, मैले यौनदर्शनको प्रायोगिक पाठ दोहोर्‍याएकी छु । बजारमा सोझो भन्टा देखेर म ‘सु श्री भ्यान्टी बजै’लाई सम्झन्छु । कसैको अनुहारको मुस्कुराहट देखेर म सहिदगेटमा सर्वसाधारणका लागि बनेका शौचालय सम्झन्छु । चुनावप्रथाले पनि मलाई नगरपालिका (सरी, नगरपञ्चायत) ले ठाउँठाउँमा राख्ने गरेको टिनको ढ्वाङ सम्झाउँछ । ‘रेडियो नेपाल’को बडबडाहटले कान चिर्छ । प्रजातान्त्रिकतामा घोत्लिँदा म हाँडीघोप्टेको पाँच पत्र टालेको सुरुवाल सम्झन्छु । ‘साहित्यिक’हरू त्यही ‘सुरुवाल’को विज्ञापन गर्न थाल्छन्- म सुन्न थाल्छु । गीतकार त्यसैको गीत लेख्छ र म गीत गाउन थाल्छु, त्यसैले ।

जय श्री टी. को क्याब्रे डान्स हेरेर प्रधानमन्त्रीलाई सपनामा देख्छु । हेलेनको रूपमा सूर्यबहादुर थापा स्टेजमा आउँछ । न्युरोडे ठिटाहरूले मलाई सपनामा सम्भोग गर्न आएजस्तै दिनभरि म बसभित्र बलात्कृत हुन्छु । पुस्तकालयका काउन्टरका महानुभावहरूबाट अमेवार- ‘बजै’ हुनुको उपेक्षा पाउँदा पनि म उसलाई ‘विश्वामित्र’ देख्न थाल्छु । (‘पुस्तक’हरूको के कमी हँ, यहाँ ? )

त्यस्ता कति प्रसंग छन्, जो मेरा पुस्तक हुन् । मानवले चन्द्रविजय गर्‍यो तर हजारौं आर्मस्ट्रङ र किसिंगरहरूले आफ्नो कालो छालालाई पत्तीले सेतो बनाउन सक्तैनन् । भुखमरी नभएको नेपालमा कोसौं टाढाबाट सयौं जनता भिक्षा माग्न आउँछन्- राजधानीसित । उनीहरू च्युरा र एक दमकल पानी पिएर फर्काइन्छन् । (राजधानीमा पनि भुखमरी भए महापञ्चहरू कसरी बाँच्ने हँ ? )

त्यस्तै कृष्णचन्द्रसिंह प्रधानको ‘व्यथित-स्तोत्रावली’ले पाएको ‘मदन पुरस्कार’ले नोबल पुरस्कारको महत्तालाई पनि पूरा फिक्का पारिदिन्छ । देश इतिहासको हत्या गरेर देशलाई ‘नयाँ मोड’को नाउँ दिनु पनि पृथ्वीनारायण शाहले विजित प्रदेशमा नागरिकहरूको नाककान काट्नुजस्तै हो । यसरी नै, बिपी र पुष्पलालहरूको राजनीति पनि टुनटुनले सिनेमा हलमा ‘हाउसफुल’ गराउनुभन्दा धेरै सानो कुरो हो । (पाठक म अब ज्यादा प्रसंग लम्ब्याएर आफू गुरु बन चाहन्नँ ।) मैले, यसरी नै कैयन् पुस्तक, जीवनघटना र स्थितिपरिस्थिति, वातावरण पढेर यो सिकेकी छु कि यहाँ पाठकको होइन लेखकको आवश्यकता छ । आत्मरतिलिप्त व्यथितजस्ता कविको आवश्यकता छ । ‘स्वान्त ः सुखायका लागि लेख्ने’ समको आवश्यकता छ । ‘कसैका लागि पनि नलेख्ने’ शंकर लामिछानेको आवश्यकता छ ।

दत्तात्रय जीवित भएको भए मेरा पाठ्यपुस्तक देखेर यही सिक्ने थियो कि गुरुले दिएका ‘पाठ’ सम्झन तथा पढ्न त एउटा कम्प्युटर नै चाहिन्छ । (शंकर लामिछाने, पारिजातजस्ता प्रबुद्ध ‘पुस्तक’बाट मैले आत्मविज्ञापनको आधुनिक तरिका सिकेकी छु, त्यो यही हो । दुवैलाई जिन्दावाद ।।)
अँ, म अघि भन्दै थिएँ, यहाँ लेखकको आवश्यकता छ । अन्ततः लेखकहरूको मनोपोली हटाउन यहाँ सम्पादकको आवश्यकता छ । सम्पादकको मनोपोली हटाउन फेरि प्रकाशकको आवश्यकता छ । प्रकाशकको मनोपोली हटाउन पाठकको (र ‘पाठकाङ्क’को पनि) आवश्यकता छ र पाठकको मनोपोली हटाउन त यहाँ श्री ५ सरकारको ‘कानुन’हरूको आवश्यकता छ ।

यसभन्दा अघि बढेर त हामी फेरि, ‘आएकै ठाउँ’ (पुनः ‘लेखक’- तिर ।) पुग्छौं । आएको ठाउँतिर फेरि पस्नु सायद, बुद्धिमानी जरुर होइन । (हा-हा ।)

साभार : चित्कार, वर्ष ४ : छैटौं आवाज, पुस २०३०


Loading comments...