रामकुमारी झाँक्रीले पक्राउ पर्नु अघि आफूमाथी लागेको आरोपबारे के भनिन?


काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । झाँक्री स्वयं प्रहरीमा उपस्थित हुन अस्वीकार गरेपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको अनुमान गरिएको छ किनकि प्रहरी घरमै पुगेपछि प्रहरी घरबाहिरै रहँदा झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै राज्यलाई पक्राउ पुर्जी लिएर आउन भनेकी छिन् । सम्भवतः झाँक्रीले प्रहरीलाई पनि यही जवाफ दिएका कारण प्रहरी पक्राउ गर्न पुगेको अनुमान गरिएको छ ।

झाँक्रीले आफूलाई पक्राउ गर्न प्रहरी आएकोबारे उनले तानाशाह ढल्ने बेला भएकोले आफूलाई पक्राउ गर्न खोजिएको टिप्पणी गरेकी छिन् । उनले मर्ने बेलामा कमिलाको पनि प्वाँख पलाउने भन्दै तानाशाह अन्त्य हुन लागेको टिप्पणी गरिन् । प्रहरी आफूलाई पक्राउ गर्न आउनु प्रधानमन्त्री र राष्ट्रपतिको दबाबका कारण भएको उनले बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको बताइन् ।

उनले आफूलाई तर्साउनको लागि पक्राउ गर्न खोजिएको बताइन् । आफूले भाषणका क्रममा बालकोट, बानेश्वर लगायतमा ठाउँहरुको नाम लिएको विषयमा उनले यी ठाउँको नाम लिँदैमा कसैको इज्जत वा अस्मितामा हानी नपुग्ने दावी गरिन् । राष्ट्रपतिको भूमिकाप्रति नागरिक सन्तुष्ट नभएको उनले बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो ।


Loading comments...