ओलीले वैशाखमा चुनाव गराउँदैनन् : पौडेल


मोरङ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको राजनीतिक अपराधकाविरुद्ध कांग्रेसले सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।

विराटनगरमा आयोजित वर्तमान राजनीतिक अवस्था, संवैधानिक संकट, यसको विकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा उनले यस्तो धारणा राखेका हुन् । “कांग्रेसको आजको दिनको संस्थागत निर्णय भनेको प्रधानमन्त्रीले चालेको कदमको विरुद्धमा सशक्त आन्दोलन गर्नु हो र यसको विकल्प छैन,” उनले भने, “सशक्त आन्दोलन गर्नु भनेको हडताल गरौं, बन्द गरौं भनेको होइन । हामी सडकमा आऔं, राजधानी केन्द्रित आन्दोलन गरौं, ठूला सडक केन्द्रित आन्दोलन गरौं, यस्तो गम्भीर राजनीतिक त्रुटि र अपराध गर्ने प्रधानमन्त्रीका विरुद्ध जनदबाब सिर्जना गर्न हामीले आह्वान गरौं ।’ निर्वाचित तानाशाहहरुलाई कांग्रेसजस्ता लोकतन्त्रवादीहरुलेमात्रै परास्त गर्न सक्ने उनको भनाइ थियो ।

नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले गरेका संवैधानिक नियुक्तिहरु असंवैधानिक भएको र कांग्रेसलाई त्यो स्वीकार्य नहुने पनि बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अख्तियारमै फाईल भएको मान्छेलाई बनाइएको दाबीसमेत गरे । कार्यक्रममा उनले केपी ओलीले वैशाखमा चुनाव नगराउने पनि दाबीसमेत गरे ।


Loading comments...