अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्छ : पूर्वकानुनमन्त्री तामाङ


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था अफापसिद्ध भइसकेकाले देशलाई नयाँ राजनीतिक प्रणालीमा लानुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्थामा जान प्रस्ताव गरे ।

तामाङले भने, “यो व्यवस्थाले स्थिरता रहेन अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔं ।” पटक-पटक प्रधानमन्त्रीले संसद् भंग गरेकाले अब राजनीतिक स्थायित्वका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखमा जानुपर्नेमा जोड दिए । राष्ट्रपतिले नै सरकार चलाउने र मन्त्री पनि बनाउने व्यवस्था गर्नुपर्ने बताए । तर, राष्ट्रपतिलाई निरंकुश हुन नदिने प्रावधान पनि राख्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्यबाट कोही पनि मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके निर्वाचन पनि स्वच्छ हुने उनले तर्क गरे । पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङले राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको खाँचो औंल्याए । उनले निर्वाचन एउटै खर्चमा हुनेगरी जानुपर्ने बताए । तामाङले भने, “संसद्‍मा १६५ मात्र हुने र प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन पनि हुनेगरी एउटै खर्चबाट जानुपर्छ ।” एउटा चुनावमा खर्बको खर्च हुने भएकाले भ्रष्टाचार बढ्नसक्ने उनको भनाइ छ । देशलाई चुनावी खर्चले ठूलो समस्या बनाउने गरेको उनले बताए ।

केन्द्र सरकारका कारण प्रदेश सरकारमा पनि अन्योल बढेको उनले बताए । प्रदेश सरकार पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको प्रस्ताव छ । मुलुकमा ५५० प्रदेशसभा सदस्य नचाहिने भन्दै घटाउनुपर्नेमा तामाङले जोड दिए । नगरपालिका र गाउँपालिकाहरूलाई पनि ३ सयमा झार्नुपर्ने उनको भनाइ छ । स्थानीय निकायलाई अझ बढी अधिकार दिनुपर्नेमा उनले जोड दिए ।


Loading comments...