सनुप पौडेल तथा शैलेश्वरी सिंहको युगल आवाजमा भ्यालेन्टाइन गीत “अरु सबै”


प्रेम दिवस अथवा भ्यालेन्टाइन-डे २०२१लाई स्वागत गर्दै नेपाली संगीतप्रेमीहरूमाझ चर्चित गायक सनुप पौडेल तथा द भ्वाइस नेपालमा देशव्यापी प्रसंशा कमाएकी युवा गायिका शैलेश्वारी सिंहको युगल स्वारमा ‘नवरस संगित’ नामक नयाँ युट्यूब च्यानलमार्फत “अरु सबै” बोलको एक पृथक एवं कलापूर्ण साङ्गीतिक भिडियो भर्खरै सार्वजानिक भएको छ ।

अनुप पाहारीको शब्द तथा संगीत र पौडेल तथा सिंहको बेहद मधुर गायनबाट बनेको यस गीतको भिडियो ‘मन्जरी’ चलचित्रदेखी ख्याति कमाएका गणेश देव पाण्डेले निर्देशन गरेका छन् । निर्देशक पाण्डेले कलाकार एवं मोडेलद्वय अशिम रानाभाट र रबिन जंग थापाको ‘संगीतमय मायालाई’ श्रृंगारपूर्ण ढंगबाट स्क्रीनमा कब्जा गर्दै नेपाली संगीत स्रोताहरूमाझ एउटा स्वादिलो एवं आकर्षक प्रेमकथा पस्कन सफल भएका छन् । गीतको रस र भावलाई पर्दामा उतार्ने प्रयासमा सम्पूर्ण निर्देशक टोलीले सृजनात्मक तथा सरल लालित्यको बाटो पछ्याएको आभास हुन्छ ।

प्रतिभाशाली युवा गितारवाधक संयोग रेग्मीको संगीत समायोजन रहेको यस गीतमा ध्वनी प्रवन्धन (मिक्स र मास्टरिङ्) बिनय मान अमात्यबाट भएको छ । अमात्यले ख्यतिप्राप्त गीतकार तथ गायक बिपुल क्षेत्रीको प्रत्यक्ष सांगीतिक कन्सर्टहरुमा ध्वनी प्रबन्धनको सम्पूर्न जिम्मेवारीसमेत वहन गर्ने गरेका छन् ।

भिडियो छायांकन एवं सम्पादनमा पाण्डेलाई ‘ग्लेज इन्टर्टेन्मेन्ट’का कृष्ण भन्डारीलगायत महेश पौडेलले प्राविधि रूपमा सक्षम ढंगबाट साथ दिएका छन् । भिडियो निर्माणमा प्रयोग गरिएका सेटहरू, पोशाक, प्रकाश प्रविधि एवं क्यामराको हरकतहरूमा निकै परिस्कृत तौरतरिका तथा सोच प्रयोग गरेको देखिन्छ ।

कतिपय आधुनिक गानामा शाब्दिक रुपमा मायाको उच्चारण गरिए तापनि प्रेमका विभिन्न प्रसंगहरू गहिरो रुपमा अभास गराउने क्षमता तिनमा झिनो रुपमा मात्र भेटिन्छ । यस गीतमा माया र प्रेमको सर्वकालीन मानव अनुभुतीलाई गीतकार पाहारीले कविताको श्रृंगारमात्र पहिराएका छैन, शब्दहरूलाई भावानुकूल सांगीतिक मालामा उन्न पनि उनी सफल रहेका छन् । हेर्ने गीतको संस्कृति हावी भइरहेको समयमा यो एउटा यस्तो सांगीतिक सिर्जना हो जसको श्रव्य र दृश्य पक्षबीच कुनै फाटो वा द्वन्द्व भेटिँदैन । थोरै शब्दमा भन्नु पर्दा, यो गाना तथा गिती भिडियोमा एक अलग प्रकारको श्रव्यदृश्य प्रवाह भेटिन्छ जासमा थाहै नपाउने गरी स्रोतालाई बगाउने शक्ति निहित रहेको छ ।

भर्खरै सुरु गरिएको यूट्यूब च्यानल ‘नवरस संगीत’ मार्फत भविष्यमा पनि प्रतिभाशाली नेपाली गायक गायीकाको आवाजमा नेपाली संगीतप्रेमी श्रोतामाझ आफ्ना गीतहरू निरन्तर रुपमा पेस गर्ने रचना तथा संगीतकार अनुप पाहारी बताउँछन् ।


Loading comments...