साउदी जाँदै हुनुहुन्छ ? साउदीले लागू गरेका नयाँ नियम थाहा पाउनुहोस्


काठमाण्डौ – के तपाईँ साउदी अरबमा रोजगारीका लागि पुनः प्रवेश भिसामा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने साउदी सरकारले लागू गरेको नयाँ नियम थाहा पाउनुहोस् ।

साउदी सरकारले साउदीबाट पुनः प्रवेश भिसामा अर्थात् बिदामा स्वदेश आएकाहरू भिसाको अवधिभित्रै काममा नफर्किएमा तीन वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाएको छ । तर जुन कम्पनीबाट पुनः प्रवेश भिसामा स्वदेश आएको हो त्यही कम्पनीमा नयाँ भिसामा जानका लागि अनुमति पाएमा भने कुनै बाधा पर्नेछैन । तर तोकिएको अवधि भित्र साउदी प्रवेश गरि सक्नु पर्नेछ ।

यस्तै पछिल्लो केही समययता साउदीमा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि साउदी सरकारले स्वास्थ्य सुरक्षामा थप कडाइ गरेको छ ।

व्यापारिक मलहरूमा जाने हरेकले मलमा प्रवेश गर्नुअघि साउदी सरकारले उपलब्ध गराएको मोबाइल एप आफ्नो फोनमा अनिवार्य डाउनलोड गरेको हुनु पर्नेछ । यो एपले कोरोना सङ्क्रमण भएका व्यक्तिको आगमनको समेत ट्रयाकिङ् गर्छ ।

यस्तै साउदी सरकारले यसअघि मार्च ३१ बाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन खुल्ला गर्ने निर्णय गरे पनि यो अवधि पुनः थप गर्दै मे १७, २०२१ सम्म पुर्‍याएको छ ।

यसैगरी विभिन्न २० देशबाट हुने आप्रवासीहरूको आगमनलाईसमेत अस्थायी रूपमा साउदीले स्थगित गरेको छ । भारत, पाकिस्तान, अर्जेन्टीना, ब्राजिल, लेबनान, पोर्चुगल टर्की, यूएई, अमेरिका लगायतका २० वटा देशबाट आप्रवासी, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरूका परिवारहरू अर्को व्यवस्था नभएसम्म साउदी अरब प्रवेश गर्न पाउने छैनन् ।

नेपाललाई साउदीले प्रतिबन्ध नलगाए पनि यूएई लगायत साउदीले प्रतिबन्ध लगाएका देशबाट ट्रान्जिट भएर जान पाइने छैन ।


Loading comments...