ओलीले भने – केही भाइहरुले लड्‌डु ख्वाइख्वाइ गरेछन्, सरकार फेरिँदैन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नफेरिने दाबी गरेका छन् । काठमाडौंमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै सरकार नफेरिने दाबी गरेका हुन् ।

उनले भने, “अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको काम अघि बढिरहेको छ । तपाईँहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढङ्गले अघि बढ्नूस् । हामी हाम्रो कर्तव्यमा जुट्छौँ र देश बनाउँछौँ । यो संकल्प निरन्तर अघि बढ्छ ।”

प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक इजलासको निर्णयपछि नेकपाको प्रचण्ड-नेपाल समूहले खुसीयाली मनाएकोतर्फ इंगित गर्दै भने, “मेरा केही भाइले लड्डु खाए । खुसी भए । के जिते मलाई थाहा छैन । के पाउँछन् हेर्नु छ ।”

उनले प्रचण्ड-नेपाल नै पुनः आफ्नो राजीनामा माग्‍ने आफूलाई लागेको उल्लेख गर्दै जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको संकल्प’ परिवर्तन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रचण्ड नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको छ । ओली पक्षले भने अदालतको फैसला कार्यान्वयन गरिने तर प्रधानमन्त्रीले राजीनामा नदिने बताइरहेको छ ।


Loading comments...