संसद् पुनर्स्थापनाको आदेशपछि डा. केसीको अनशन स्थगित


काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्‍ने घोषणा गरेका थिए । सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि उनले अनशन स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको उनले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।

डा. केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै रहने हो भने अवस्थामा खासै परिवर्तन नआउने बताएका छन् ।


Loading comments...