
‘नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार नियन्त्रणमा काम गर्छु’
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।
नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले भने, “नागरिक समाज र जनताले पनि अपेक्षा के गरेका छन भने भ्रष्ट्राचारलाई न्यूनीकरण, नियन्त्रण गर्नुपर्यो । यहाँ धेरै भ्रष्ट्राचार व्याप्त छ भन्ने आवाजहरु उठाइराख्नु भएको छ । त्यो आवाजलाई मेरोकार्यकालमा मैले विगतमा जुन प्रकारको भ्रष्ट्राचार नियन्त्रणमा कामकारबाही भइराखेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यो भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।”
नागरिकको अपेक्षा मिडियाले उठाएका विषयवस्तुमा संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानून सम्मत तरिकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने उनले बताए ।
“मेरो कार्यकालमा भ्रष्ट्राचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन तर निर्दोश व्यक्तिलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन,” उनले भने, “विनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर म भ्रष्ट्राचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउने छु ।”