मंगल ग्रहबाट पहिलो एचडी तस्बिर सार्वजनिक


सीएनएन । गएको बिहीबार मंगल ग्रहमा अवतरण गरेको नासाको ‘प्रिजरभरेन्स रोभर’ले नयाँ तस्बिरहरु पठाइरहेको छ । जसले पृथ्वीबाहिर अर्को ग्रहका रोचक दृश्य र वातावरणको प्रत्यक्ष अनुभव गराइरहेको विज्ञहरुले बताएका छन् ।

उक्त यानमा जडान गरिएको जुम गर्न मिल्ने कलर क्यामेरा, ‘मास्टक्याम–जी’ उपकरणले अवतरण भएको क्षेत्रबाट १४२ वटा तस्बिर पठाएको छ । तिनै तस्बिरहरुलाई मिलाएर नासाले ३६० डिग्रीको पहिलो प्यारानोमा बनाएको छ ।


यो पहिलो एचडी (हाइ डेफिनेसन) तस्बिरमा ‘जेजेरो क्रेटर’लाई स्पष्टसँग देख्न सकिन्छ, जुन ३.९ अर्ब वर्ष पुरानो सुकेको ताल भएको क्षेत्र हो । नासाको यानले त्यहीँ आफ्नो अध्ययन र रिसर्च सञ्चालन गर्नेछ । यसमा आगामी दुई वर्षसम्म प्राचीन जीवनको संकेत खोजी गरिनेछ ।

सार्वजनिक तस्बिरमा क्रेटर रिम, प्राचीन नदि डेल्टा अनि चट्टान केही दूरीमा देख्न सकिन्छ । सो तस्बिर नासाका अन्य यानले विगतमा पठाएकोभन्दा धेरै फरक भएको बताइएको छ । मास्टक्याम–जीका प्रमुख खोजकर्ता जिम बेल भन्छन्, “हामीले अहिले एकदमै राम्रो ठाउँमा बस्न पाएका छौँ । जहाँबाट विविध विशेषताहरु देख्न सकिन्छ । र, तिनीहरु ‘स्पिरिट’, ‘अपरचुनिटी’ र ‘क्युरिओसिटी’ यानका अवतरण क्षेत्रसँग धेरै तरिकाले समान पनि छन् ।”

प्रिजरभरेन्स रोभरले नेभिगेसन क्यामेराको प्रयोग गरी प्यारानोमा तस्बिर पनि पठाएको छ । यसमा जडान दुईवटा क्यामेरा एचडी फिचरयुक्त रहेका छन् । ती क्यामेरा ६ फिट अग्लो मान्छेको आँखाको स्तरमा रहेका छन् र ९.५ इन्च टाढाको दूरीमा छन् । यसले नै रोभरलाई विस्तृत दृश्य लिनमा मद्दत गरिरहेको छ । मास्टक्याम–जीले सिर्जना गर्ने कलर तस्बिरको गुणस्तर हाम्रो डिजिटल एचडी क्यामेराजस्तै अपेक्षा गर्न सकिने नासाका अधिकारीले बताए ।

ती क्यामेराले जुम गर्ने मात्र होइन, फोकस गरेर भिडियो खिच्नुका साथै प्यारानोमा र थ्रीडी तस्बिर पनि लिन सक्छन् । यसले मिसनको टिममा हुने वैज्ञानिकहरुलाई नजिक र टाढा दुवैतर्फका वस्तुहरुको जाँच गर्ने अवसर दिलाएको छ । यसको प्यारानोमामा ०.१ देखि ०.२ इन्च सानोसम्मका वस्तुहरु विस्तृतमा देख्न सकिन्छ । त्यस्तै, ६.५ देखि १० फिट टाढा पनि राम्ररी देखिन्छ । यी क्षमताको लक्ष्य भनेको सो भूगोलको इतिहास बुझ्न र रोभरका अन्य उपकरणहरुले अध्ययन गर्नुपर्ने ढुंगा र चट्टानहरुको पहिचान गर्नु रहेको छ ।

यसमार्फत् वैज्ञानिकहरुले संकलन गरी पृथ्वीमा ल्याउनुपर्ने ढुंगाहरु पनि निर्धारित गर्न सक्नेछन् । नासाले रोभरबाट प्राप्त थप तस्बिरहरु आफ्नो वेबसाइट र मिडिया अकाउन्टमा निरन्तर पोस्ट गर्ने बताएको छ ।


Loading comments...