केही दिनभित्रै सभापतिमा उम्मेदवारी घोषणा गर्छु : सुजाता कोइराला


काठमाडौं। नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिने बताएकी छन्। केही दिनमा पत्रकार सम्मेलन गरेर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्ने कोइरालाको तयारी छ। उनले अनामनगरस्थित हनुमानस्थाननजिक सम्पर्क कार्यालय समेत बनाएकी छन्।

अब देशभरका नेता कार्यकर्तासँग भेटघाट गर्ने र केही दिनमा देश दौडाहामा निस्कने तयारीमा उनी छन्। ‘१४औँ महाधिवेशनका लागि सभापति चुनाव लड्न सम्पर्क कार्यालय सुरु गरेकी छु, अब सचिवालयले यही सम्पर्क कार्यालयबाट काम सुरु गर्नेछ,’ कोइरालाले भनिन्, ‘अब सचिवालयले देशभरका साथीहरूलाई सम्पर्क गर्न थाल्छ। म केही दिनमै देश दौडाहामा निस्कनेछु।’

तीन वर्षअघि क्यान्सर भएका कारण अप्रेसन गरेर ठिक भएपछि जीपी फाउन्डेसनमार्फत देशभर सामाजिक अभियानमा सक्रिय भएर देशभरका कार्यकर्तालाई खटाएकी थिइन्। अहिले स्वस्थ भएपछि उनी काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने योजनासहित सभापतिमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी हुन्। उनले जिल्ला-जिल्लामा पुगेर त्यहाँको नेतृत्व र कार्यकर्तासँग भेट्ने भन्दै १४ औँ महाधिवेशनमा आफू सभापति निर्वाचित हुने दाबी गरिन्।

‘गिरिजाबाबुले छाडेपछि काँग्रेस संगठनविहीन जस्तै बनेको छ, नेताका घरमा हेरियो भने ठुलो सङ्गठन छ, जिल्ला र स्थानीय स्तरमा हेर्‍यो भने संगठनविहीनता छ,’ कोइरालाले भनिन्, ‘संगठन भनेको जहाँ चाहिने हो त्यहाँ हुनुपर्छ। नेताको वरिपरि घुम्ने कार्यकर्ताबाट सङ्गठन जोगिन सक्दैन।’

नेताहरूले सङ्गठन गर्न पैसा चाहिने भनेको विषयप्रति कोइरालाको विमति छ। उनले थपिन्, ‘मैले जीपी फाउन्डेसनका त्यति धेरै कार्यक्रम गरे त्यो सबै जहाँ कार्यक्रम भए त्यहीका साथीहरूले म्यानेज गर्नुभएको हो। नेताले संयोजन मात्र गरिदिने र कार्यकर्ताबीच विभेद मात्र नगरिदिने हो भने जिल्ला र स्थानीय तहमा सङ्गठन कार्यकर्ताले गर्छन्। नेतृत्व विकास पनि त्यहीबाट हुन्छ।’


Loading comments...