प्रकाण्डको नेतृत्वमा विप्लव समूहले गठन गर्‍यो वार्ता टोली


काठमाडौं । सरकारले वार्ता टोली गठन गरेपछि प्रतिबन्धित नेकपा पनि वार्ता टोलीको घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसँग वार्ता गर्न टोली गठन गरेको हो ।

महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनाताका विषयमा वार्तामा बस्‍न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत छ ।”

विप्लव समूहको वार्ता टोलीमा प्रकाण्ड र दिपक चलाउने गरी दुई सदस्यीय रहेको छ ।

सरकारले मंगलबार मात्रै चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


Loading comments...