
पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले भने – आयोग अनिर्णयको बन्दी बन्न हुँदैन, नेकपालाई निर्णय देऊ
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादको टुंगो नलगाउँदा मुलुक थप अस्थिरतातर्फ जानसक्ने भन्दै आयोगलाई छिटो निर्णय गर्न आग्रह गर्न थालिएको छ । पाँच पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आयोग अनिर्णयको बन्दी बन्न नहुने सुझाएका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगलाई अनिर्णयको बन्दि नबन्न आग्रह गरेका हुन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन्, “‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै साखमा पर्नसक्ने असरलाई समेत विचार गरी प्रचलित कानून तथा स्थापित नजिरहरुको आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौ ।”
पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगसँग आग्रह गरेका हुन्।
“राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ,” विज्ञप्तिमा भनिएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । विभाजित नेकपाका दुबै समूहले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।
तर, निर्वाचन आयोगले भने हालसम्म पनि कुनै पनि समूहलाई आधिकारिकता दिएको छैन ।