फागुन २५ देखि पशुपतिनाथमा विशेष पूजा गरिने


काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैत पहिलो सातादेखि बन्द भएको विशेष पूजा फागुन २५ गतेदेखि पुनः सुरु हुने भएको हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको समय पारेर विशेष पूजा खुलाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार फागुन २५ गतेदेखि एक हजार एक सयदेखि २७ हजार रुपैयाँसम्मका विभिन्‍न किसिमका विशेष पूजा गर्न पाइने छ ।

२७ गते पर्ने शिवरात्रिका दिन भने पाँच हजार एक सय र ११ हजारका दुई किसिमका मात्र विशेष पूजा हुने उनले जानकारी दिए । पाँच हजार एक सयको पूजामा दुई जना र ११ हजारको पूजामा चारजना सहभागी हुन पाइनेछ ।

केही दिन अघि मात्रै पशुपतिनाथ मन्दिरमा १०८ केजी सुनको जलहरी राखिएसँगै अघिल्लो वर्षको शिवरात्रीको तुलनामा यसपटक दर्शन गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य बढोत्तरी हुने कोषाध्यक्ष डा. थापाले बताए ।

फागुन २५ गतेदेखि पशुपतिनाथसँगै रहेको वासुकि मन्दिर पनि खुल्ने भएको छ । आर्थिक २०७५-७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १ सय ४७ रुपैयाँ उठेको थियो भने आर्थिक २०७६-७७ मा ६ करोड एक लाख ८९ हजार चार सय ७५ रुपैयाँ उठेको थियो ।


Loading comments...