ज्योति लाइफको आईपीओ आजबाट, कति दिने आवेदन ?


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला गरेको छ । कम्पनीले सुरुमा फागुन २३ गते आइतबारबाट आईपीओ निष्कासको मिति तोके पनि आइतबारबाट निष्कासन गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारण लागि बिक्री गर्न लगेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले २०७७ माघ ९ गत जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिल छ । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारणसेयर हिस्सा ७०:३० प्रतिशत हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ रेटिङ पाएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कति दिने आवेदन ?
धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । कम्पनीले सामूहिक लगानी कोष र सर्वसाधारणलाई छुट्याएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९५ हजारले पाउनेछन् ।

पछिल्लोपटक निष्कासन भएको महिला लघुवित्तको आईपीओमा करिब १५ लाख ४० हजारको आवेदन सदर भएको थियो । यसमा पनि सोही अथवा त्यसभन्दा माथि आवेदन पर्नसक्ने भएकाले सेयर बाँडफाँड गोला प्रथाबाट हुन सक्छ । यसलाई आधार मान्दा १० कित्ता पनि गोलाप्रथाबाट पर्ने हुनाले १० कित्ताभन्दा बढी आवेदन दिन आवश्यक देखिँदैन ।


Loading comments...