विप्लवले भने – जून र घामको भेट भयो र तीन बुँदेमा प्रतिबद्ध छौं, कसैले कुर्तक नगरे हुन्छ


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताएका छन् ।

उनले भने, “यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ । नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ । हामी सहमतिमा प्रतिबद्ध छौं । यसमा कसैले कुतर्क नगरे हुन्छ ।”

उनले सरकार र नेकपाबीचको सहमतिलाई जून र घामको संज्ञासमेत दिएका छन् । उनले भने, ” जून र घामको भेट हुँदैन भन्‍ने गीतजस्तै हामीलाई ठानिएको थियो । हामीहरु भने भेट भएको छौं । यो खुसीको कुरा हो ।”

मुलुकमा दीर्घशान्ति, स्थिरता र अहिलेसम्म पूरा नसकेको समृद्ध जीवनको चाहनाको एक महत्वपूर्ण दस्तावेज पनि भएकोसमेत उनले बताएका छन् । उनले भने, “आज यो संयोग पनि हो । सहिदहरुको स्मरणको दिन अथवा सहिद सप्ताह । एउटा अध्याँरो समयमा र अध्यारो परिवेशमा उज्यालो सपना देखेर पाँच जना अग्रजहरुले नेपाल र नेपाली जनताको लागि त्यो संयोगसँग सहिदहरुले निश्‍छल सपना देखेको दिन हो ।”

उनले शुक्रबार गाउँमा पस्दै गर्दा सहिदकी आमाले टिका लगाएको स्मरण गर्दै भने, “हामी गाउँमा पस्दै गर्दा सहिदको आमाले टीका लगाइ दिनुभयो । आजसम्म धेरैका इच्छा पूरा तर सहिदको चाहना पूरा भएको छैन भन्‍नुभयो । नेपाली जनताको चाहना पूरा भएको छैन । हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला भनेर ती आमाले भन्‍नु भएको थियो । हामी जीवन बलिदान गर्छौं तर सहिदको सपनामाथि आँच आउन दिने छैनौं ।”

कम्युनिस्टहरु विद्रोहका योद्धा मात्र गर्ने नभइ राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा शान्तिका दूत पनि भएको बताएका छन् ।


Loading comments...