
ज्याक माको कम्पनी अलिबाबामाथि १ अर्ब डलर जरिवाना गर्ने चीनको तयारी
चीनले ई-कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।
यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएको आरोप लागेको थियो ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरुले यसबारेमा केही बताउन चाहेनन् ।
चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् ।
यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।
तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनको व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका छन् ।
गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ-शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए ।
त्यसको एक महिनापछि अधिकारीहरुले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान सुरु गरे । त्यही समय स्वयं ज्याकमा मध्य जनवरीसम्म सार्वजनिक रुपमा कतै देखा पर्नु भएन ।