आईफोन–१२ अब भारतमै बन्ने, के सस्तो होला नेपालीलाई ?


काठमाडौं । आईफोन–१२ अब भारतमै तयार हुने भएको छ । अमेरिकी कम्पनी एप्पलले भारतमै आईफोन–१२ को एसेम्बल सुरु गरेको हो । कम्पनीले एक बयान जारी गर्दै–‘आफ्ना स्थानीय उपभोक्ताहरुका लागि हामीले आईफोन–१२ भारतमै तयार गर्न सुरु गरेका छौं ।’

भारतका केन्द्रिय मन्त्री रबि शंकर प्रसादले पनि एप्पलको निर्णयलाई स्वागत गरेका छन् । उनले विश्वविख्यात एप्पल कम्पनीले भारतमै एसेम्बल आरम्भ गर्नु उपलब्धि भएको र अब विश्वको ध्यान भारत तर्फ खिचिने बताएका छन् । एप्पलका अनुसार ताईवानी पार्टनर कम्पनी फाक्सकाँनले तामिलनाडुस्थित एप्पल प्लान्टमा आईफोन एसेम्बलको काम गर्नेछ ।

अमेरिका र चीनबिचको बढ्दो व्यापार युद्धका कारण एप्पलले केहि उत्पादनका काम चिन भन्दा बाहिर लगिरहेको छ । नोभेम्बरमा फाक्सकाँनले एप्पलको भनाई अनुसार आईप्याड र म्याकबुकका केहि मोडल चिनको साटो भियतनाममा बनाउन थालेको थियो । रोयटर्सले केहि समय अघि एप्पलले आईप्याडको एसेम्बर भारतमा गर्ने योजना बनेको खुलासा गरेको थियो ।

आईफोनका नयाँ मोडलहरु नेपाली बजारमा आउन समय लाग्ने गरेको थियो भने अन्य देशमा भन्दा महंगो पनि हुने गरेको थियो । छिमेकी भारतमै तयार हुने भएपछि नेपाली बजारमा केहि चाँडो उपलब्ध हुने र सस्तो पनि हुन सक्ने अपेक्षा गरिएको छ ।


Loading comments...