म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?


म्यानमार सेनाले कू गरेपछिकै सबैभन्दा रक्तापातपूर्ण दिन रह्यो यो हप्ता । एकैदिन प्रहरी र सेनाले चलाएको गोली लागेर ५० जनाको मृत्यु भयो । सेनाले कू गरेपछि सुरु भएको प्रदर्शनका सुरक्षा बलको गोली लागेर मृत्यु हुनेहरको संख्या १२० भन्दा धेरै भइसकेको छ । यसअघि एकैदिन ३८ र १८ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीहरुले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहितका नेताहरुलाई रिहाइको र प्रजातन्त्र पुनर्स्थापनाको माग गरेका छन् । यससँगै प्रदर्शनकारीहरु चीनप्रति पनि आक्रोशित देखिएका छन् । म्यामारमा प्रदर्शनकारीहरुले हालसम्म चिनियाँ लगानीमा रहेका ३२ भन्दा बढी उद्योगहरुमा तोडफोड र आगजनी गरेको चिनियाँ सञ्‍चारमाध्यम पिपुल्स डेली चाइनाले जनाएको छ ।

म्यानमारको वाणिज्यिक राजधानी योङ्‌गुनमा दुई चिनियाा कामदारहरु पनि म्यानमारका प्रदर्शनकारीको आक्रमणमा परेका छन् भने करिब ३७.८ मिलियन डलर बराबारको चिनियाँ लगानीमा क्षति पुगेको पिपुल्स डेली चाइनाको तथ्यांक छ ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यम सीजीटीएनका अनुसार आक्रमणकारीहरुले फलामका रड, बञ्‍चरोले आक्रमण गर्ने गरेका छन् भने उद्योगहरुमा पेट्रोल छर्केर आगजनी गर्ने गरेका छन् । चिनियाँहरु चढ्‍ने सवारीसाधनमासमेत क्षति पुर्‍याइएको छ ।

म्यानमार चिनियाँ कलकारखाना र उद्योगहरुमा आक्रमण बढेपछि म्यानमारस्थिति चिनियाँ दूतावासले म्यानमारको सैन्य शासकलाई चिनियाँ लगानीका उद्योगमाथिको आक्रमण रोक्‍ने चेतावनी दिएको थियो । चिनियाँ दूतावासको चेतावनीपछि योङ्‌गुन, ह्लियाङथायालगायतका विभिन्‍न जिल्लाहरुमा मार्सल कानुन लागु गरिएको छ ।

आइतबार साँझ मार्सल कानुन लागु भएलगत्तै अर्को चिनियाँ उद्योगमा आगजनी गरिएको छ । मार्सल कानुन लागु भइसकेपछि प्रदर्शनमा उत्रिने र चिनियाँ उद्योगहरुमा आक्रमण गर्नमाथि सुरक्षाकर्मीले गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो । मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ह्लियाङथायामा करिब एक सयभन्दा बढी चिनियाँ लगानीमा उद्योगहरु रहेका छन् ।

प्रदर्शनकारीहरुले म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कू’ मा चीनको समर्थन रहेको भन्दै आक्रमण गर्न थालेका हुन् । योङ्‌गुनस्थित चिनियाँ दूतावासबाहिर पनि व्यापक विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले म्यानमारको सैन्य कूको निन्दा गर्न चिनियाँ दूतावासलाई आग्रह गरेका थिए ।

तर, चिनियाँ अधिकारीहरुले भने म्यानमारमा कू भएको विषयमा आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए । त्यसैगरि आफूहरुले सैन्य जुन्तालाई समर्थन नगरेकोसमेत बताएका थिए । दूतावासका अधिकारीहरुको यस्तो प्रतिक्रियापछि प्रदर्शनकारीहरु थप आक्रोशित बनेका हुन् ।

चिनियाँहरुले आफ्नो उद्योगको सुरक्षाका लागि सुरक्षागार्डहरुको संख्या बढाएको बताएका छन् ।

तर, म्यानमारस्थित ताइवानमाको डि फ्याक्टो एम्बेसीले आफ्ना कम्पनीहरुमा ताइवानको झण्डा फहराउन र आफू ताइवानी भएको कुनै संकेत दिन सुझाएका छन् । ताइवानले आफू चीनभन्दा फरक रहेको जानकारी गराउन पनि सुझाएको छ ।

म्यानमारमा चार लाखभन्दा बढी चिनियाँहरु रहेका छन् । जसमा अधिकांश म्यानमारमा व्यापार गर्दछन् ।


Loading comments...