उद्योगीलाई प्रधानमन्त्री ओलीको प्रश्न- मैले तपाईंहरूलाई अर्थशास्त्र पढाउनुपर्छ र ?


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यापारीहरुलाई आफूले अर्थतन्त्रको शास्त्र पढाइरहनु नपर्ने बताएका छन्।

शुक्रबार उद्योगी व्यवसायीहरुसँगको भएको छलफलका क्रममा उनले नेपालमै उद्योगधन्दाहरुको स्थापना गर्न सकेमा आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न सहज हुने भन्दै यसले पार्ने चक्रीय प्रभावको बारेमा भनिरहनु नपर्ने बताए।

उनले भने, ‘मैलै तपाईहरुलाई अर्थतन्त्रको शास्त्र पढाउनुपर्ला र ? यदि तपाईहरुले नेपालमा नै उद्योगहरु खोल्ने हो भने नेपालका जनताले रोजगरी पाउने थिए, यहाँ नै उत्पादन हुँदा स्वदेशी कच्चा पदार्थहरुको प्रयोग हुने थियो भने व्यापारघाटा कम भई देशको सम्पूर्ण अर्थव्यवस्थामा नै सकारात्मक असर पर्ने थियो। त्यसैले यही नै गाडी उत्पादन किन नथाल्ने ?’

उनले अटो मोवाइल्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलालले गाडीहरु किन्दा ५० प्रतिशतको डाउन पेमेन्ट घटाउनुपर्ने आग्रहको जवाफ दिँदै भने, ‘हामीले सोच विचार नगरीकन नीति बनाएका छैनौँ १० प्रतिशत डाउन पेमेन्टमा नै कार किन्न सक्ने सुविधा दिने हो भने मैले नै एउटा गाडी किन्छु, अनि ट्राफिकको अवस्था के होला?’

प्रधानमन्त्री ओलीले नेपालमै गाडी उत्पादन जस्ता अन्य उत्पादनका उद्योगहरु खोल्ने हो भने व्यापारीहरुले सोचेकोभन्दा बढी सुविधा दिने प्रतिबद्धता जनाए। उनले यदि उद्योगधन्दा खोल्नका लागि कुनै कानुनी जटिलता भए अध्यादेश ल्याएर भए पनि सो समस्या समाधान गर्ने पनि स्पष्ट पारे।

उनले ‘इतिहास झल्कने आधुनिकता टल्कने’ खालको विकास हुनुपर्ने भन्दै नेपाल विकासोन्मुख देशबाट स्तरोन्नतिको लागि सिफारिस भएको भन्दै ठूलो प्रगति भएको दाबी गरे।


Loading comments...