
चिनियाँ जहाज पनि हटाउने निगमको तयारी, अमेरिकी कम्पनीलाई बिक्री गरिँदै बोइङ ७५७–२००
१० चैत्र २०७७, मंगलवार १२:५०
काठमाण्डौ । नेपाल वायुसेवा निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ ।
यही समयमा निगमले बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ । लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै निगमले चाँडै उक्त प्रक्रिया टुंगिने जनाएको छ ।
निगमले पहिलो र दोस्रो लिलामी प्रक्रियामा विमान बिक्री हुन नसकेपछि तेस्रोपटक बोलपत्र आह्वान गरेको थियो । तेस्रोपटकको प्रयासमा भएको लिलामी प्रक्रियामार्फत निगमले उक्त विमान बेच्ने निर्णय गरेको थियो । उक्त कम्पनीले गत साउनमा भएको पहिलो चरणको सम्झौतापछि निगमलाई पाँच प्रतिशत बैनासमेत बुझाइसकेको थियो ।
दोस्रो टेन्डरमा पनि विमान बिक्री नभएपछि कानुनले आपसी छलफलबाट विमान बेच्ने सुविधा दिएको थियो । सोही नियमभित्र रहेर निगमले ५.७१ मिलियन अमेरिकी डलरमा उक्त विमान बेच्ने सम्झौता गरेपनि कोरोनाको कारण प्रक्रिया टुंगिन सकेको थिएन । अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड अवस्थामा छ ।
उक्त जहाज लिलाम गर्न निगमले नेगोसिएसन उपसमिति समेत गठन गरेको थियो । उपसमितिको अध्ययनले विमान किन्न प्रस्ताव गर्ने तीन कम्पनीमध्ये सिएसजिएसलाई बेच्न सुझाएपछि बिक्री प्रक्रिया अघि बढेको र हाल निगम प्रक्रियामा गएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जनाएका छन् ।
“पछिल्लो आठ महिनादेखि उक्त कम्पनी निरन्तर सम्पर्कमा थियो र पटकपटकको ताकेतापछि सिएसजिएसलाई अन्तिम सम्झौता पठाइसकेका छौं,” पौडेलले भने । सन् २०१९ जुन २६ मा ४५ दिनको समय दिएर पहिलो बोलपत्र आह्वान गरेको निगमले त्यसमा परेका तीनवटै कम्पनीले निगमले चाहेको मूल्य तिर्न तयार नभएपछि दोस्रोपटक २०१९ कै अगस्तमा पहिलो साता १५ दिनको समय सीमा राखेर पुनः बोलपत्र आह्वान गरेको थियो ।
उक्त आह्वानबाट पनि निगमले राखेको मूल्य पाएन । त्यसपछि गत नोभेम्बरमा आकर्षक छुटसहित तेस्रोपटक गरेको बोलपत्र आह्वानमा तीन विदेशी कम्पनीले चासो देखाएका थिए । निगमले तेस्रोपटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रूपैयाँ ९४२ लाख ५० हजार अमेरिकी डलर तोकेको थियो ।
सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताए पनि झन्डै दुई वर्षदेखि ग्राउन्डेड उक्त विमान मर्मतसम्भारमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले जहाज बेच्न खोजेको हो । निगमका तत्कालीन कार्यकारी निर्देशक मदन खरेलले सन् २०२० को फेब्रुअरीसम्म मात्रै उक्त विमान उड्न सक्ने अवस्थामा भएकाले छिटो बिक्री गर्न दबाब दिएका थिए ।
विमानका केही कागजपत्रको म्याद उक्त समयमै सकिएको छ । तर अहिले पनि आवश्यक कागजी प्रक्रिया पूरा गरेर एकपटकलाई उक्त जहाज उडाउन कुनै समस्या नरहेको निगमले स्रोतले जनाएको छ । ८९ हजार घन्टा उडान भरिसकेको १९० सिट क्षमताको उक्त विमानमा दुईवटा रोल्सरोयस इन्जिन छन् । निगमले सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग उक्त विमान ऋणमा किनेको थियो ।
https://myrepublica.nagariknetwork.com/news/nac-in-final-stage-of-selling-its-boeing-757-200-aircraft-to-american-company/
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको