
केपी ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दा मात्रै हो : नेपाल
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।
मंगलबार राजधानीमा अनेरास्ववियुले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेल भएकाले उनको ‘टाङमुनि नछिर्ने’ उद्घोष गरेका हुन् ।
उनले केहीले माधव नेपाल अलमलमा परेको भन्ने टिप्पणी गर्न थालेको भन्दै आफूलाई चिन्न पनि आग्रह गरे । “पत्रकार मित्रहरू, तपाईंले मलाई चिन्नुभएकै रहेनछ । राजासँग कसरी डिल गरियो, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग कसरी डिल गरियो, मैले भन्न बाँकी नै छ,” उनले भने ।
स्पष्टीकरणबाट नतर्सने, मैदान छाडेर नभाग्ने उनले प्रष्ट पारे । “हामी मैदान छाडेर भाग्दैनौँ । पार्टी हामी फुटाउँदैनौँ । केपी ओलीले फुटाउँछन्,” नेपालको भनाइ थियो ।