
ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह
विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले बिराटनगरमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेका कारण एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको जिकिर गरे ।
नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धीमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको नेता सिंहले बताए । देश विकासका लागि कम्युनिस्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाइ थियो ।
“कम्युनिस्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर कम्युनिस्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउनतर्फ लाग्यो,” नेता सिंहले भने । आन्तरिक भागबण्डा नमिले पछि कम्युनिस्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको उनको आरोप थियो ।
कांग्रेस अहिले पनि परिस्थितिलाई सम्हालेर जान तयार रहेको भन्दै नैतिकताहिन सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन दिइराख्ने र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रष्ट निर्णय नलिइरहेका अवस्थामा सरकारको विकल्प दिन कांग्रेसले ध्यान दिएन भन्नु जायज नभएको सिंहको भनाइ थियो ।