ओलीलाई घनश्‍यामको प्रश्‍न – कसको बलमा र कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ ? (पूर्णपाठ)


काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्‍न गर्दै स्पष्टिकरण पत्र बुझाएका छन् । यसअघि नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेता भुसालसहित चार नेतालाई स्पष्टिकरण सोधेका थिए ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पनि प्रतिप्रश्‍नसहित स्पष्टिकरण पत्र बुझाएका थिए । उक्त स्पष्टिकरण नकारात्मक र पार्टी हित विपरीत भएको भन्दै पार्टी अध्यक्ष ओलीले नेपाल र रावललाई कारबाही गरेका छन् ।

मंगलबार भुसालले स्पष्टिकरण पत्र बुझाएका हुन् । उनले बुझाएको स्पष्टिकरण पत्रमा प्रधानमन्त्री ओलीले पार्टीको विधान, विधि र पद्धतिको उल्लंघन गर्दै पार्टीको बैठक बोलाएर निर्णय गरेको आरोप लगाएका छन् ।

उनले प्रश्‍न गरेका छन्, “…यी सबै अपजशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनुहुन्छ ? तपाईं अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दैहुनुहुन्छ ?”

“सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै बाँकी के छ ? पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नुभयो । त्यही अनुपातमा तपाईंले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहर भत्काउँदै जानुभयो,” स्पष्टिकरणपत्रमा उनले लेखेका छन् ।

प्रधानमन्त्री ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यँझिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले अन्तिममा भनेका छन्, “क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनुहुनेछ ।”


Loading comments...