
सनातन संस्कारमा गाईको पुजा किन गरिन्छ ?
३ पुष २०७५, मंगलवार ०५:३०
नेपालमा आजभोली गाईका बिषयमा धेरै विवाद हुन थालेको छ । पशुपतिनाथको देशमा गौमाताको बिषयमा यो चर्चा परिचर्चा धेरैलाई नौलो अनि दुखद् बिषय हो भने कतिका लागि अधिकारको कुरा हुन सक्ला । खसीबोका, कुखुरा लगायत अन्य थुप्रै जनावर अनि पशुपंक्षिका मासुले नपुगेर अब गाईको मासुका लागि केही नेपाली जीब्राहरु लालाहित भएका हुन या सनातन संस्कारलाई विदेशी प्रभावमा बर्हिगमन गराउनका लागि गरिएको कदम हो ?
विश्वमा संस्कृत अनि सनातन संस्कार र विज्ञानको विशेष चर्चा र अनुयायी बढिरहेको समयमा हामी भने केही बाहिरी तत्वको हात समातेर पुराना कुरा त्याग्दै नयाँ अमूर्त काँचुली फेर्ने बहस गरिरहेका त हैनौ ? यो सबै आआफ्नो छनौट र विवेकको बिषय हो तथापी सत्य र असत्यको छनौटमा कुन पक्ष रोज्ने भन्ने जिम्मेवारी हाम्रो आफ्नै हो ।
हामी आज वैदिक सनातन संस्कारमा गाई प्रतिको सम्मान र गाईको मानव जीवनसंगको निकटताको विज्ञान प्रकाशमा ल्याउँदैछौं । गाईलाई सनातन संस्कारले एउटा पशु भन्दा बढी परिवारको सदस्य अनि अाफ्नो दुध खुवाउने भएकाले आमाका रुपमा लिएको छ । गौदान सनातन संस्कारका हरेक क्रियाकलापमा अत्यन्त महत्वपूर्ण प्रकृया हो तथापी आजभोली गाई कै पुच्छर समाएर दान गर्न नसकिने भएकाले केही पैसालाई दुना टपरीमा राखेर गौदानलाई विम्बका रुपमा दान गरिन्छ । अर्कोतर्फ गौ हत्या सनातन संस्कारको सबैभन्दा घृणीत कर्म हो । यो एउटा निकृष्ट अनि दानवीय पाप हो । यो महत्वकासाथ सनातन संस्कारमा आखिर किन छ त गाईको यो महान स्थान ? आउनुहोस् आज उत्खनन गरौं गाई र सनातन संस्कारमा हुर्किएका मान्छेबिचको यो अनन्त सम्बन्धको कारक तत्वहरु ।
सनातन संस्कारमा गाई मात्र नभई सर्प, बाँदर, पर्वत, अन्न, वनस्पति लगायत यस पृथ्वी अनि ब्रहमाण्डमा भएका सबै तत्वहरुको पूजा अर्चना गरिन्छ । सनातन देवताहरु बिभिन्न लौकिक तथा अलौकिक स्वरुप र स्वभावमा रहने गर्दछन् र यो भावलाई टपक्कै आजको क्वान्टम फिजिक्सले टिपेको छ । हरेक अवयव अनि तत्वमा शक्ति रहेको क्वान्टम फिजिक्सले वकालत गरिरहनु हजारौं वर्ष अगावै सनातन संस्कारले हरेक अवयवमा भगवान र अनन्त शक्ति रहेको ब्याख्या गरीआएकै हो ।
नेपाल अनि भारतका बिभिन्न शहरहरुमा खुलेयाम गाईहरु हिँडिरहेको तथापी जनमानसले ती गाईहरुलाई सद्भाव अनि प्रेमका दृष्टिले व्यवहार गरेको पाइन्छ । यस्ता नजारा विदेशी भूमिमा एकदमै कम देख्न पाइन्छ । फेरी हामीले बाटाघाटामा गाईवस्तु हिँड्नुलाई राम्रो भन्न खोजिरहेका हैनौं तथापी विश्वको यस पाटोमा गाईसंग समाजको सदियौंदेखिको यो सम्बन्धलाई हामीले नजरअन्दाज गर्न सक्दैनौं । अहिलेपनि काठमाण्डौ, बिराटनगर, नेपालगञ्ज, बनारस, कोलकाता, इलाहावाद अर्थात् प्रयागराज लगायतका भारत र नेपालका धेरै शहरहरुमा गाईहरुलाई बाटाबाटै विचरण गरिरहेको देख्न सकिन्छ ।
संसारैभरिका सनातन धर्मावलम्बिहरु अनि हिन्दुहरु गाईलाई परिकल्पना मात्र गर्दा पनि पूजा गर्ने साक्षात देवीका रुपमा परिकल्पना अनि सम्झना गर्दछन, यस अर्थमा हिन्दुत्वको पहिचान र आदर्श नै गाई अर्थात् गौमाता हुन् । निकै वर्ष विदेश बसेतापनि गाईको मासु नखाने अनि खाँदा आफैलाई आफैसंग घृणा लाग्ने र दिगमीग लाग्नेसम्म धेरैको अनुभव छ ।
वैदिक परम्परामा बिवाहको चलनमा पनि वरवधुलाई गौदान गरेर गाई बाच्छो सहित विदा गर्ने चलन थियो र अझै छ यो संस्कार जीवितै छ । यसो गर्नाले वरवधुलाई बिवाहपछि पनि जीवनयापनका श्रोतका रुपमा गाई वस्तु हुँदा जीवनयापन सहज हुने विश्वास छ । यस अर्थमा गाई एउटा जीवन धान्ने आधार, पौष्टिताको धरोहर अनि मानव जीवनको उच्चतम सारथी पनि मान्न सकिन्छ ।
हुन त दुध सेवन गर्नाका लागि भैंसीको पनि उपयोग उत्तिकै हुन्छ या हुन सक्थ्यो तथापि गाईलाई नै आमाको सरह मान्यता र महत्व दिदैं सनातन संस्कारले स्थापीत गराएको छ । भैंसीलाई भने यमराजको वाहनका रुपमा उत्ति शुभसंकेत भएको प्राणीका रुपमा नलिने चलन छ । गाईलाई भगवान विष्णुसंग जोडिएर हेरिएको छ, श्री हरि र गाईको सम्बन्ध प्रगाढ रुपमा लिइन्छ अनि साँढेलाई शिवको अंश मानिन्छ । दुर्गाले भैंसी र आयाप्पाले राँगालाई मारेको कथन पनि रहेको छ ।
बैष्णव धारमा भने गाईलाई धनधान्यकी देवी लक्ष्मीको अवशेषणका रुपमा लिइन्छ र भाग्वत पुराणमा भने एकदिन समस्त पृथ्वीले गाईको स्वरुपमा प्रकट भएर भगवान विष्णुलाई आफ्नो रक्षा गर्न भनेको कुरा उल्लेख छ । त्यसै कारणले पनि विष्णुलाई गोपाल अर्थात गाईको रक्षार्थ भन्ने बुझिन्छ । काठमाण्डौ शहर विश्वको एउटा प्रि हिस्टोरिक शहर हो अर्थात् यसको इतिहास प्राचीन सभ्यतासंग जोडिएको छ । काठमाण्डौमा शासन गर्ने राजाहरु पनि गोपाल वशं अर्थात गाई पाल्ने वशंका हुन् । पशुपती र गाईको सम्बन्ध पनि प्राचीन कालदेखि नै विशेष रुपमा छ । समग्र चित्रमा हेर्ने हो भने यस धर्तीलाई नै गाईको स्वरुपमा लिन सकिन्छ र धर्तीले पालन पोषण गरेकी हामी समस्त मानव जातीहरु उनै धर्ती गौमाताको विशाल काखमा बसेका छौं ।
हरेक पटक जब जब धर्तीमा गौहत्या र पाप बढ्न थाल्छ तब तब कृष्ण अनि परशुरामका रुपमा गौ रक्षकहरु आउँदछन् भनी विभिन्न वैदिक श्लोक अनि कथनमा पटक पटक आउँदछन ।
श्रीमद्भागवत् गीतामा कृष्ण स्वंयमले अर्जुनलाई युद्धका लागि सम्झाउँदा भनेका भनेका कुरा उल्लेख गर्न चाह्यौं । अर्जुनले आफ्नै मान्छेका विरुद्धमा नलड्ने अनि यूद्धले कसैको रक्षा नहुने बताउँदछन् । तब कृष्णले धर्मको रक्षार्थ अर्जुनलाई निम्न श्लोकहरु मार्फत संझाउँदछन् ।
यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्
अर्थात,
जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाका लागि म स्वंयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।
हे अर्जुन, अब तिमी पनि यस युद्धमा धर्मको रक्षार्थ अनि अधर्मको नाशार्थ सामेल हुनुपर्नेछ र यो नै तिम्रो कर्तब्य हो भनेर अर्जुनलाई श्री कृष्णले युद्धका लागि सम्झाएका हुन् ।
त्यस्तै अर्को प्रसंगमा भगवान ईन्द्रसंग कामधेनु गाई भएको कुरा उल्लेख छ, दुधको सागरबाट आएको यो कामधेनु गाई कल्पबृक्ष समान मानवका सम्पूर्ण ईच्छा आकांक्षाहरु पुरागर्न सक्षम रहेको कुरा उल्लेख छ । कल्पवृक्ष आजभोली बोलीचालीको भाषामा न आउने एउटा लोपोन्मुख शब्द भइसक्यो तथापी हाम्रो परम्परागत समाजमा यो शब्द एउटा ज्योर्तिमय शब्द हो । हरेक इच्छा आकांक्षा पुरागर्ने एउटा रुखका रुपमा कल्पवृक्षको चिनारी वैदिक सनातन संस्कारका अनेक ग्रन्थमा कल्पवृक्षको परिभाषा पाइन्छ ।
स्वर्गलोकमा एकदिन कौशीकाले यस कामधेनु गाईको चोरी गर्न खोज्दा गाई स्वंयमले सैनिकहरु सृजना गरेर आफ्नो रक्षा गरेको पनि कथन छ ।
यसै गरि महर्षि जमदग्नीको पनि यस्तै गाई रहेको र कर्त्भियार्जुनले उक्त गाईको चोरी गर्न खोज्दा परशुराम अर्थात् जमदग्नीका पुत्रले कर्त्भियार्जुनलाई टुक्रा टुक्रा पारेर नाश गरेको कथन पनि छ । रघुभाषामाका अनुसार भगवानका रामका पुर्खा दिलीपले बाघ, भालुबाट अाफ्नो गाईलाई जोगाउनका लागि आफैलाई जनावरका सामू भोजन स्वरुप सुम्पिएका थिए ।
गाईलाई दुध खाने या पाल्ने जनावर मात्र नभई रक्षा गर्नुपर्ने जनावरका रुपमा पनि लिइएको छ । मलमुत्र देखि दुधसम्म गाईका हरेक कुरा महत्वपूर्ण छन, गाईको हत्या प्रकृतिप्रतिको अवहेलना हो । अहिले विश्वभरिनै गाईको रक्षाका मुद्दाहरु उठिरहेका छन, भारतमा त गाईको मासु खाने समूदाय र नखानेबिच एकप्रकारको मौन युद्ध जस्तो नै परेको छ ।
गाई देख्दा मासु र भोजन भन्दापनि शालिनता अनि सद्भावको भावहरु आउन जरुरी छ, मासु खान त अन्य प्राणीहरु पनि उत्तिकै छन नि, हैन र ? दुध जसरी आमाको शरीरबाट सेवन गरिन्छ त्यसैगरि गाईपनि आमासमान मानिन जरुरी छ । गाईको महत्व सनातन समुदायसंग मात्र नभई सबैसंग र सबैकालागि उत्तिकै छ ।
कृष्णको महिमा पनि त गाईका रक्षक र ग्वालाकारुपमा धेरै गरिएको पाइन्छ । भागवतमा कृष्णले राक्षस साँढे अरिस्थ र राक्षस बाच्छो भास्तको वध गरेको उल्लेख छ । वौद्धमार्ग र जैनमार्गमा पनि शाहाकारी र शान्त मनोभावमा वैद्धिक संस्कार र गौस्मरण र गौप्रेम जोडीएर आएको पाइन्छ । अझ जयदेवका अनुसार त वुद्धलाई पनि भगवान विष्णुका अवतारका रुपमा लिइएको छ । गाईको पालपोषण गर्न रुख, बिरुवा, खाली ठाँउ, जगंल अनि खुल्ला चौरहरु आवश्यक हुन्छ र यसो खाली ठाँउ र वनस्पती हुनाले पर्यावरण पनि राम्रो हुन्छ ।
महाभारतको ब्याधा गीता खण्डमा एकजना कसाईको कथा छ, यस कथाको सारसंक्षेपमा खानाका लागि गरिने हिंसा र सत्ता र शक्तिका लागि गरिने हिंसा उस्तै भएको कुरा उल्लेख छ । वन जङ्गल फडानी र विषालु वनस्पतीहरुलाई खाएर नष्ट पार्ने जनावरहरुमा भैंसी अनि राँगाहरु उल्लेख भएको पाइन्छ ।
बिगतका १०० वर्षहरुमा भारतीय महाद्विपमा ईस्लाम अनि इसाईको प्रवेशसंगै गौहत्या र गाईको मासु खाने निकृष्ठ चलन शुरु भएको हो । हामीलाई हरेक धर्मको सम्मान गर्न आउँदछ तर जब जब हाम्रो संस्कार अनि सभ्यताको मूल मियोमा आहत पर्न थाल्दछ तबतब हामीले पनि धर्मको रक्षार्थ अघि बढ्न जरुरी हुन्छ ?
जीवहत्या महापाप हो अनि अझ गौ हत्या निर्घिन अपराध हो । सनातन संस्कारको शुद्धीकरण अनि गौस्नेहका अभ्यासहरुको भित्री मर्म नबुझेर पनि यस्तो भएको हुन सक्दछ । सिन्धूघाटी सभ्यताको आधार गाई अनि मानवबिचको यो सम्बन्ध र स्नेह अपरिहार्य छ ।
पुराणहरुमा पनि गाईको पूजा भनेको समस्त हिन्दु देवताहरुको एकै पटक पूजा गरे बराबर रहने भनिएको छ । मान्छे, पहाड, झरना, आकाश, पानी लगायत सम्पूर्ण कुराहरु भित्र भएको गाईका तस्वीर यूक्त पौराणीक चित्रहरुले गाईको सर्वत्र शक्ति र महिमाको व्याख्या गरेको छ । गाईभित्र मात्र हिन्दु भगवानहरु छन् भनेर हिन्दुत्वमाथी आक्रमण गर्न गौहत्यालाई प्रश्रय दिनु महान मुर्खता हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग