
नयाँ सवारी चालक अनुमतिपत्र निर्देशिका जारी, यस्तो छ नयाँ व्यवस्था
यातायात व्यवस्था विभागले परिमार्जित ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ जारी गरेको छ। विभागले साविकका नियम परिवर्तन गर्दै नयाँ निर्देशिका जारी गरेको हो।
विभागले दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने भएको छ।
मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल) मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ।
अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ। नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोडेलका सवारीसाधनको प्रयोगात्मकसहित लिखित परीक्षामा पनि केही फेरबदल गरेको छ।
लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी ५-५ अंकका जम्मा २० वटा प्रश्न सोधिनेछ। लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ। लिखित परीक्षामा न्यूनतम् ८० अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ।
मोटरसाइकल तथा स्कुटर चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ। जसमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक लाइट परीक्षण, स्पिड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण गर्नुपर्नेछ।