भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव श्रीमती सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा आज काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्घि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्घेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न गरियो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का परियोजना निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा भारतीय राजदूतावासका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय समुदाय सदस्य र विद्यार्थीहरुको सहभागीता थियो ।

नेरु. २.८४ करोड लागतमा श्री हरिसिद्घि माध्यमिक विद्यालयको निर्माण हुनेछ भने श्री सिद्घेश्वर माध्यमिक विद्यालयको निर्माण लागत नेरु. ३.९६ करोड रहेको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालयहरुको निर्माण गरिनेछ । श्री हरिसिद्घि माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ । त्यस्तै, श्री सिद्घेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ । यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । यस भूमि पूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।

स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ । ५०,००० घरहरुमध्ये अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।

भारतको आर्थिक सहयोगमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ । यी दुवै क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ ।


Loading comments...