कोरोना संक्रमण बढ्दै, लकडाउनबारे के भन्छन् स्वास्थ्यमन्त्री ?


काठमाडौं । छिमेकी मुलुक भारतसहितका देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । नयाँ वर्ष नजिकिएसँगै रोजगारीमा भारत गएकाहरु पनि फर्किने क्रम चलिरहेको छ । भारतबाट नेपालीहरु फर्किएसँगै कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरुले भने सरकारले प्रभावकारी कदम चाल्‍नुपर्ने बताइरहेका छन् ।

कोरोना संक्रमण बढ्दै जाँदा फेरि लकडाउन हुनसक्ने त्रास पनि बढेको छ । तर,स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

‘नेपाल हेल्थ कनक्लेभ २०२१’ द्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन् । उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताका छन् । त्रिपाठीले लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए ।

उनले भने “हामी यो चाहँदैनौं कि नेपाल फेरीपनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले संक्रमण कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दिर्घकालीनरुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाईं लडिरहेको छ हामी पनि एउटा यो लडाईंको योद्धा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाईं गर्न तयार छ ।”

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गररे । उनले भने, “हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर, एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।”

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरु हुने पनि त्रिपाठीले बताएका छन् ।


Loading comments...