कांग्रेस बैठक– देउवा र पौडेल अनुपस्थित, के विषयमा भयो छलफल ?


काठमाडौं । आइतवार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुई प्रमुख नेताहरु अनुपस्थित भएका हुन् । देउवाले कार्यव्यस्ताका कारण उपस्थित हुन नसक्ने जानकारी दिएका थिए भने पौडेल नतहुँ पुगेका छन् ।

आजको बैठकको कार्यसूचीमा महाधिवेशन थियो । नेता प्रदीप पौडेलले दिएको जानकारीअनुसार दुई नेताको अनुपस्थितिपछि सो विषयमा छलफल भएन । यस्तै आजैको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम र समायोजनबारे छलफल भएको छ । ‘भोलिको केन्द्रीय समिति बैठकमा कस्ता एजेन्डा लैजाने भन्नेबारे आज अनौपचारिक रूपमा छलफल गरिएको हो,’ नेता पौडेलले भनेका छन् ।

आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन समितिले हालसम्म गरेका काम र उत्पन्न समस्याबारे बिफ्रिङ्ग गरेका थिए । यस्तै केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका समस्याबारे जानकारी गराएका थिए ।

कांग्रेसले ७१ जिल्लामा क्रियाशील सदस्यताको काम धमाधम अगाडि बढाए पनि कतिपय जिल्लामा काम गर्न सकेको छैन । चैत १० गतेसम्म क्रियाशील वितरण गरी केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशी सदस्यता वितरण गर्न सकेका छैन । ‘अझैसम्म ६ वटा जिल्लामा काम हुन सकेको छैन,’ कांग्रेस नेतृ पुष्पा भुसालले भनिन्, ‘अब कति दिन थप गर्दा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै विवरण इन्ट्री भइसक्छ भन्नेबारे आज सामान्य छलफल भयो । भोलि केन्द्रीय समितिले यसबारे निर्णय गर्छ ।’

कांग्रेसले यसपटक १० लाख क्रियाशील सदस्यता पुर्याउने तयारी कांग्रेसको छ । क्रियाशील सदस्यता वितरण गर्न समस्या भइरहेका जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन सकिनेबारे पनि आज छलफल भएको थियो ।


Loading comments...