Pm office nepal mantriparishad

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू के-के हुन् ?


काठमाडौं । सरकारले कोरोना महामारी नियनलागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ ।

मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णयसमेत गरेको छ ।

नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सोमबार साँझ बसेको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने भएको छ ।

उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट मंगलबार देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने भएका छन् ।

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलनसहितको छलफल मन्त्रिपरिषद्मा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगि नसकेको प्रवक्ता गरुङले जानकारी दिए ।

दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दबाब भएपनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

सोमबार मात्रै मुलुकमा ४९६ कोरोना संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।


Loading comments...