अब कोरोनासँग हातेमालो गर्नैपर्छ ! (अर्ग्यानिक निबन्ध)


गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो अपेक्षा थियो । तर भ्याक्सिनै पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भए जस्तो छ । किनभने अहिले फेरि विश्वभरि नै कोरोना कोभिडको नयाँ स्वरूपको आतङ्क शुरु भएको छ । भ्याक्सिन नलाएका मात्रै होइन भ्याक्सिन लाएकालाई पनि कोरोना पोजेटिभ देखिनुले जनजीवन त्रस्त छ ।

लेखकः इन्दिरा प्रसाई

गत वर्ष कोरोनाका कारणले लकडाउनको मारमा परेको आर्थिक, सामाजिक, शैक्षिक गतिविधिका कारण समग्र समाजमनोविज्ञान तहस नहस भएको छ । बालबालिका र युवापुस्ताको वृद्धि र वृत्तिको विकास नै रोकिएको छ ।

अहिले फेरि लकडाउन हुन्छ भन्ने हल्लाले अर्को आतङ्क थपिएको छ । कोरोना किन र के कारण आएको छ भन्ने कुरासँग सरोकारै नराखी लकडाउनले मात्रै समस्या समाधान कसरी गर्छ र ?

हुँने खाने वर्गलाई त लकडाउनको खासै असर पनि नपर्ला तर हुँदा खाने वर्गका लागि लकडाउनले थप विपत्ति शिवाय के ल्याउला र ?

मेरो यो लेखको आसय लकडाउनको पालना नगर्ने र सबै कोरोना लागेर भष्मिभूत हुनुपर्ने भन्ने कदापि होइन । तर यत्ति हो, लकडाउनले कोरोना लाग्नबाट बचाउँदैन र लकडाउनै मात्रै कोरोना समस्याको समाधान होइन भन्ने चाहिँ पक्कै हो।

विदेशीको नक्कल गरेर लकडाउन गर्न उद्यत सरकारले विदेशीकै नक्कल गरेरै भए पनि जनराहतका लागि के गरेको छ ?

हामी जनताले पनि बुझ्छौँ, विकशित राष्ट्रको जस्तो सहुलियत दिन हाम्रो कङ्गालीको हवाला दिने सरकारले सक्तैन । तर सरकारले छिमेकी राष्ट्र भारतकै जत्तिको भए पनि राहत दिन सक्नु पर्थ्यो नि । तर दिइँदैन । कम से कम कोरोना अवधीभर जनताले तिरेको करको सम्मान गरिएको भए पनि हुन्थ्यो । तर सरकारी उच्च ओहदाधारीहरूका लागि जनताले तिरेकै करबाट विशिष्ट सेवा र सुविधा लिइँने प्रक्रिया बन्द भएको छैन । अनि कोरोनाका मारमा परेका जनताका लागि कुनै किसिमको सहुलियतको व्यवस्था गरिएको छैन ।

संसारकै तन्नम मुलुकहरूमध्ये पनि शिर्षस्थमा पर्ने हाम्रो मुलुकमा संसारकै धनीमा गनिने जनताको नामावलीको पनि कमी छैन । गरिव देशका धनी जनता भनेर हनस्यास्पद पहिचान बनाउनेको सङ्ख्या पनि उल्लेख्य छ । हिँजोका दिनमा चप्पलको लोती फेर्न पनि धौधौ हुनहरूको शान शौकतका कुरा गर्नु पनि अब अौचित्यहीन जस्तो भइसकेको छ । जनता सोझा र चेतनाहीन हुनुको फाइदा टाउकेहरूले उठाउनु उठाइरहेका छन् । कोरोनाको आतङ्कले संसार आतङ्कित हुँदा पनि जनधनको रक्षाको साटो हाम्रो देशको सरकार कुर्सी जोगाउने उद्यममा लागेकै छ । अर्काथरी टाउकेहरू कसरी कुर्सी पाउने भन्ने दाउमै छन् । जनज्यानको भन्दा आआफ्नो कुर्सीकै ध्यानमा नेता लागेका छन् । कार्यकर्ता वा टाठा बाठालाई पनि जे गरि भए पनि जसो गरि भए पनि दाम कमाउने होडबाजी नै छ ।

ओठमा त सबैलाई थाहा छ, संसारको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानवजीवन हो । जीवन रहे न अरू सबै कुरा रहने हो । तर जीवन बचाउने उद्यमका रूपमा सरकारले जानेको एउटै कुरा छ : ‘लकडाउन’ । लकडाउन गर्दा कसलाई के नकारात्मक प्रभाव पर्छ भन्ने कुराको हिसाबै नगरि यो सरकारलाई लकडाउन गर्न लाज लाग्दैन ?

यो त सरकार र सुविधाको कुरा पर्यो । यसबारे अहिले थप चर्चा नगरेकै जाति । ‘बुझ्नेलाई यो कुरो गहिरो छ, नबुझ्नेलाई घर छेउमा पहिरो छ’ भन्याजस्तै हो ।

अब हामी आम जनताका कुरा गरौँ ।
प्राणीले यस धरामा जन्मनासाथ स्विकार गर्नै पर्ने सत्य मृत्यु नै हो । त्यसैले कोरोना नलागेरै पनि मानिसको जीवन कुनै पनि बेला मृत हुनसक्ने कुरा शाश्वत छ । मृत्युसँग डराउने हो भने त हामीले होस सम्हाल्ना साथै देखि डराउनु पर्ने हुन्छ । तसर्थ हामीलाई केवल कोरोनाले नै मृत्युमा पुर्याउने होइन भन्ने कुरा सबैमा हेक्का रहनु पर्छ । बरू कोरोनासँग सावधान हुने ध्येयमा हामीले हाम्रो लथालिङ्गे जीवनशैलीलाई व्यवस्थित गर्न सक्यौँ भने हामी स्वस्थ्य हुने र संभावित मृत्युलाई नै पनि अलि पछि धकेल्नसमेत पक्कै सकिन्छ ।

त्यसैले हामी सधैँ ‘कोरोना कोरोना’ गर्दै डराएर बस्नु हुँदैन ।

म त भन्छु यस कोरोनालाई अब हामी सँगसँगै हिँड्ने साथी बनाउनु पर्छ । कोरोनासँग अब हामीले हातेमालो गर्नै पर्छ ।

हामी सबैलाई थाहा भएकै कुरा हो, सपेराले गोमन सर्प खेलाएर पेट पाल्छन् । सर्कसवालाले बाघभालु नचाएर पेट पाल्छन् । विशाल हात्तीलाई सानो माउतेले तालीम दिएर आफ्नो अन्तर्गतमा राख्छन् । त्यसरी नै कोरोनालाई पनि हामी हरेक मानिसले आफ्नो अन्तर्गतमा राख्नु पर्छ । राख्न सकिन्छ पनि ।
कसरी ?

१. आआफ्नो जीवनशैली व्यवस्थित गरौँ । सही समयमा सही खानपीन गरौँ । आफ्नो प्राणशक्ति वृद्धि हुने किसिमको आचार व्यवहारमा लागौँ ।
२. आआफ्ना घर परिसर र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिऊँ ।
३. प्रत्येक परिवारका हरेक सदस्यले न्युनतम दिनमा एक कप हाम्रै भान्साघरमै भएका जडीबुटीको काँढापानी पकाएर खाने बानी बसालौँ र राति सुत्नु अघि तातो पानीको वाफ अनिवार्य लिने बानी बसालौँ ।
४. प्रत्येकले सकेसम्म प्रकृतिको संरक्षण गरौँ र प्राकृतिक जीवनशैली अपनाअौँ ।(किनभने संसारभरि नै स्वच्छ हावापानी वा हरियाली भएको वा प्राकृतिक विनास नभएका ठाउँहरूमा कोरोनाको पहुँच वा आतङ्क खासै देखिएको छैन । प्रकृतिको विनास नै कोरोनाको उत्पत्तिको कारक हो कि भन्ने प्रवल संभावना प्रमाणित हुने तरखरमा छ । )

• सरकार !
लकडाउनको हल्ला फिँजाउनुको साटो जनतालाई सहज जीवन यापन गर्नका लागि आवश्यक पर्ने कुराहरूमा सहुलियत दे !
•जनताका आधारभूत आवश्यकताका बस्तुहरूमा बढ्दो महङ्गी नियन्त्रण गर ।
• बस्तुमा मिलावट वा प्रदुषणको जाँच तीब्र पारेर खाद्य सामाग्रीमा मिलावट गर्नेलाई कठोर सजायको व्यवस्था गर ।
• आफ्नो मोजमज्जामा कटौती गरेर निमुखा जनतालाई प्राण धान्न मद्धत दे !

सबैलाई नयाँ वर्ष २०७८ को मङ्गलकारी शुभकामना !


Loading comments...