सत्ता कब्जा गर्न नपाएपछि केहीले प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् । बुधवार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरूले सत्ता कब्जा गर्नका लागि, आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताए ।

संविधान, व्यवस्था र नागरिकको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका ईच्छा र आकाङ्क्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेहरूले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको उनले बताए । अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने ओलीले बताए ।

उनले भने, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउन थाल्छन् । प्रतिगमन भयो भनेर । अहिले त्यस्तै केही स्याल हुइँया चलाउने मान्छेहरू छन् । के हो प्रतिगमन भनेको रु यिनीहरूले परिवर्तन नै बुझेको रहेनछन् कि क्या हो ? परिवर्तन र उपलब्धिहरू हामीले जे प्राप्त गरेका छौँ, ती प्राप्त गरेका उपलब्धिहरू गुमे भने, हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौँ त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ? संविधान खोसिएको छैन । व्यवस्था खोसिएको छैन, नागरिकका अधिकार खोसिएको छैन, लोकतन्त्रका आधारभूत मूल्य मान्यता केही तलमाथि पर्‍यो र रु केही पनि परेन ।’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि उनले बताए ।

ओलीले भने, ‘केही मान्छेहरूको महत्त्वाकाङ्क्षा पूरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्नपर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफूले ध्वस्त पार्न खोज्ने, ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने । यस्ता शाब्दिक क्रान्तिकारीहरू नामका वामपन्थी, कामका दक्षिणपन्थी । आफ्नै बहुमतको, झण्डै दुई तिहाइको सरकार आफूहरूले नै उत्पात मच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिँड्दा हिँड्दै कब्जा गर्ने किला, काँटा सबै फुत्कियो । अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ।’

आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिँडनेहरूले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रगमन, विकासको लहर सबै कुरालाई नागरिकले बुझ्ने प्रयास गरिराखेको उनले बताए । हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामहरूलाई तीव्र गतिमा अगाडि बढाइएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान गरिएको बताए। सहिद परिवार र घाइतेहरूलाई आउँदा दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरू के–के हुन् भन्नेमा सरकारको ध्यानाकर्षण भएको बताए। सहिदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरूको शिक्षादीक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने ओलीको भनाइ छ ।

त्यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने उनले बताए । उनले भने, ‘सहिदका परिवारको सामाजिक सुरक्षाको सम्बन्धमा, सहिदको परिवारको रोजगारीको सम्बन्धमा, सहिदका परिवारको स–साना बालबालिकाहरू छन् भने तिनको शिक्षादीक्षाको सम्बन्धमा र सहिद नभएका तर घाइते भएका, अशक्तताबाट पीडितहरूका जीविकाको समस्याहरू छन् भने अथवा केही काम गर्न सक्ने तर अनुकूलको काम प्राप्त छ भने त्यस्तो स्थितिमा पनि कसरी त्यसको सम्बोधन गर्न सकिन्छ सरकारले त्यसतर्फ पनि सम्बोधन गर्छ । ’

सहिदका परिवार आवासविहीनको अवस्थामा छन् भने आवासको उपलब्ध गराउन, जमिन उपलब्ध गराउने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकारले सोचिरहेको प्रधानमन्त्री ओलीले बताए । अहिले नागरिकका लागि विकास आवश्यक भएको र विकासको प्रतिफल सबैको पहुँचमा हुनुपर्ने ओलीले बताए ।

आफ्नो अधिकार, न्याय, जीवनलगायतका कुनै चिज कसैले पनि खोस्दैन भन्ने स्थिति ल्याउन सरकारले ध्यान दिएको उनको भनाइ छ । असमानताको विभेद, भेदभावजन्य कुरा हुन नहुनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए ।

सरकारले २०६२र०६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेश आन्दोलनमा ज्यान गुमाएकाका सहिद परिवार, घाइते तथा आपाङ्गता भएका र बहिर्गमित पूर्व लडाकुहरूलाई ‘लोकतन्त्रका योद्धा’को रूपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गरे ।


Loading comments...