नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा


काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ । विज्ञहरु नेपालको अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहर समुदायमा देखिसकेको भन्दै सर्वसाधरणलाई सचेत गराइरहेका छन् । मानिसहरुले स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्दा संक्रमण फेरि उकालो लागेको उहाँहरु बताउनुहुन्छ ।

पछिल्लो समय संक्रमण पुष्टि भएकाहरु कोरोनाको नयाँ प्रजाति यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले हाल नेपालमा कम उमेरका व्यक्तिलाई संक्रमण बढेको र उनीहरु यूके भेरियन्टबाट संक्रमित भएको पाइएको बताउनुभयो । नयाँ भेरियन्ट फैलिएको शंका गरिरहँदा उहाँले विद्यालय जाने तथा कम उमेरका व्यक्तिलाई संक्रमण हुन थालेको बताएका छन् ।

संक्रमितको उपचार धेरै हुने शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ४७ प्रतिशत ५० वर्षभन्दा कम उमेरका रहेको बताउनुभयो । उहाँले पहिलो भन्दा दोस्रो छाल बढी खतरनाक रहेको भन्दै यही गतिमा अस्पताल भर्ना हुने दर बढेमा संक्रमितको मृत्यु हुने दर पनि बढ्न सक्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा डेढ महिनायता यूके भेयिन्टसँग मिल्दो संक्रमित भेटिरहेको उहाँले बताउनुभयो । कोरोनाभाइरसको कुन प्रकार हो भनेर निक्र्यौल गर्न जीन सीक्वन्सिङ गर्नुपर्ने हुन्छ । यो विधि जटिल र महँगो छ ।

जीन सिक्वन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक उपकरण तथा रसायन नेपाल ल्याइसकिएको र केही दिनमा नै परीक्षण सुरु हुने प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । यूके भेरियन्ट हो कि भनेर चिन्न अहिलेकै पीसीआरको विशेषीकृत प्रणालीबाट नमुनामा एस जीन नभएको पाइएमा त्यसमा उक्त भेरियन्ट हुन सक्ने शंका गरिन्छ ।

कम उमेरका व्यक्तिमा संक्रमण बढ्न थालेपछि विद्यालय तथा शिक्षण संस्था खोल्ने या बन्द गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तथा २५ जनाभन्दा बढी भेला हुने क्षेत्र बन्द गर्न लगेको प्रस्तावमा कोभिड १९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीमा छलफल चलेको छ । यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । विज्ञहरुले कोरोनाको दोस्रो लहरबाट बच्न स्वास्थ्यका मापदण्ड सही तरिकाले पालना गर्न सर्वसाधरणलाई सुझाव दिएका छन् ।


Loading comments...