कोरोनाः सरकारले लागु गर्‍यो कडा मापदण्ड


काठमाडौं। कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलिएपछि सरकारले सोमबार नयाँ मापदण्ड लागू गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्वास्थ्य मापदण्डबारे निर्णय गरेको थियो।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय भएको जानकारी दिए।

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पनि संचालन अनुमति दिएको छ। होटलमा बसेर खान नपाइने र डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड सरकारले लागू गरेको छ।

यस्तै सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको छ। मास्क नलगाएका यात्रुलाई १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन निर्देशन दिइएको छ।

लामो दूरीको यातायातमा बीच बाटोमा यात्रु चढाउन नपाइने र यात्रुको बिबरण अनिवार्य जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अनिवार्य उपलब्ध गराउनुपर्ने मापदण्ड बनाइएको छ।

यस्तै सरकारले भीडभाड हुने सभा, सम्मेलन र गोष्ठी गर्न नपाइने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सभा सम्मेलन भर्चुअल माध्यमबाट गर्ने मापदण्ड लागू गरिएको छ।

मेला महोत्सव, जात्रा पर्व, पास्नी व्रतवन्ध, मलामी, अनुष्ठान क्रियाकलाप संचालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने मापदण्ड बनाइएको छ। सो भन्दा बढीभेला हुनै पर्ने बाध्यता भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको अनुमति लिनुपर्ने छ।


Loading comments...