सदनबाट नयाँ कोरोना नियम पारित भएपछि जर्मनीमा कर्फ्युसहितको लकडाउन


जर्मनी। जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ हप्ता पहिले मन्त्रिपरिषदबाट पारित नियम बुधबार सदनबाट केहि हेरफेर गरेर पास भएसँगै अब आपतकालिन कडा लकडाउन देशैभर लागु हुने भएको हो। यद्यपी बिहीवार माथिल्लो सदनमा छलफल र पारितको लागि प्रस्ताव गरिँदैछ। तर माथिल्लो सदनमा केवल औपचारिकताका लागि मात्रै पेश हुन लागेको हो।

जर्मनीमा १६ वटा राज्य छन्, यहाँ प्रान्तलाई आफ्नो राज्य चलाउन छुट्टै नियम लागु गर्न पाइने नियम छ। तर कोरोनाको मामिलामा फरक फरक नियम र केन्द्रको आदेशलाई अवज्ञा गर्न थालेपछि कोरोना संक्रमणमा न्यूनीकरण हुन नसकेकाले देशैभर एकै नियम लागु गर्न चान्सलर एंगेला मर्केलले यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित गराउँदै सदनमा पेश गरेकी हुन्।

यो नयाँ नियमसँगै प्रतिलाख सय जना संक्रमित भएको जिल्ला र सहरमा अब राति दश बजेबाट बिहान पाँच बजेसम्म कर्फ्यु लागु हुनेछ। स्वास्थ्य समस्या, जागिर र कार्यालयको विशेष काम, घरपालुवा जनावरको घुमाइफिराई, अन्य विशेष र आपतकालीन अवस्था बाहेक घरबाहिर निस्कन प्रतिवन्ध लगाइएको छ।

यद्यपी मध्यरात १२ बजेसम्म केवल एकजना व्यक्तिगत व्यायामको लागि दौडन निस्कन पाउनेछ, जहाँ कुनै साथी सँगै हुन पाउने छैन। राति दश बजेपछि कार समेत नचलाउन भनिएको छ भने अन्य सबैखाले व्यक्तिगत सवारी साधन चालकलाई दश बजे अगावै घरभित्र पस्न आह्वान गरिएको छ। एक व्यक्तिले अब अर्को घरको एक व्यक्तिसँग मात्र भेटघाट गर्न पाउनेछ तर १४ बर्ष मुनिका बालबालिका गनिने छैन।

मृत्यू कार्यमा ३० जनासम्म भेला हुन पाइने छ। बजार पसलहरुमा अपोइन्टमेन्ट लिएर र तत्कालै नतिजा आउने कोरोनाको एन्टीजेन रिपोर्ट नेगेटिभ भएमा मात्र किनमेलको लागि अनुमति पाइनेछ। तर प्रतिलाख १ सय ५० संक्रमित नाघेमा केवल अर्डर गरेको सामान लिन जान मात्र पाइनेछ, त्यहाँ गएर किनमेल गर्न पाइने छैन। अत्यावश्यक औषधि पसल, खाद्यान्न पसल, किताव पसल आदि भने खुल्ला रहनेछन्। कपाल काट्ने शैलुनमा समय लिएर कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै प्रवेश पाइनेछ।

प्रतिलाख सात दिनमा १ सय ६५ संक्रमित भएमा विद्यालयहरु पनि बन्द गरिनेछ। अहिले समग्र देशभरी प्रतिलाख जनसंख्यामा १ सय ६२ भन्दा बढि कोरोना संक्रमित रहेका छन्। समग्र ४ सय १२ जिल्ला तथा सहरमध्ये ३ सय जिल्ला तथा सहरमा कोरोना संक्रमितको संख्या प्रतिलाख १ सय माथी रहेको छ। यो कोरोना नियमको व्यापक आलोचना भए पनि सरकार र सदनले यसलाई पास गरेको हो। यो आपतकालीन नियम जुन महिनासम्म लागु हुनेछ।

सदन चलिरहँदा नियम पारित नगर्न दवाव दिदै बर्लीनमा भएको विरोध प्रदर्शनमा ७० जना प्रदर्शनकारी पक्राउ परेका छन्। कोरोना भाइरसको बढ्दो संक्रमणका बेला मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले कुनै पनि प्रकारका आन्दोलन, प्रदर्शन र विरोधसभा गर्न अदालतले रोक लगाएको छ। स्वास्थ्यका न्यूनतम मापदण्ड पालना नगरेको, भिडभाड गरेको, मास्क नलगाएको आरोपमा प्रदर्शनकारीलाई पक्राउ गरिको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै जर्मन सञ्चारमाध्यमहरुले जनाएका छन्।

जर्मनीमा अहिलेसम्म ३१ लाख ९५ हजार जनामा कोरोना संक्रमण भएकोमा २८ लाख २५ हजार निको भैसकेका छन्। मृत्यू हुनेको संख्या ८१ हजार नाघेको छ भने ५ हजार जना आइसीयूमा छन्।

बर्लीन लगायतका कतिपय सहरमा आइसीयू बेडको अभाव देखा पर्न थालेको छ भने रिजर्भ बेड समेत नभएकाले स्वास्थ्य प्रणाली नै ध्वस्त हुने चिन्तामा वैज्ञानिकहरु रहेका छन्। ८ करोड जनसंख्या रहेको जर्मनीमा अहिलेसम्म २० प्रतिशतले मात्र कोरोनाको खोप पाएका छन्। अहिले पारिवारिक चिकित्सकबाट पनि खोप लगाउने कार्य भएकाले युद्धस्तरमा भ्याक्सिनको काम अघि बढेको अधिकारीहरुले जनाएका छन्। चुनाव अघि सबैले खोप पाइसक्ने चान्सलर मर्केलको दावी छ। जर्मनीमा आगामी २६ सेप्टेम्बरमा आम चुनाव हुँदैछ।


Loading comments...