जुम्लामा MBBS को सम्भाब्यता अध्ययन


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा MBBS कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययनका गर्न एक कार्यदल टोली हिजो कर्णाली प्रदेशको जुम्लामा पुगेको छ ।

टोलीमा  शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य र कर्णाली प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले रहेका छन् । MBBS अध्ययन शुरु गर्दा आइपर्ने समस्या, चुनौती र सम्भावना अध्ययन गरी प्रतिवेदन तयार गर्ने र शिक्षा मन्त्रालयलाई बुझाउने कार्यदलको उद्देश्य रहेको छ ।

प्रा. डा. गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्ला मै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

टोलीले अस्पतालको गहनरूपमा निरीक्षण गरेको छ । टोली दुई दिन जुम्लामा बस्ने योजना रहेको छ । शिक्षा मन्त्रालयले खोजेका सबै पक्षलाई अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यदलका संयोजक प्रा.डा. गिरीले बताए । कार्यदलले प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतसहित राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा प्रतिष्ठानसँग बैठक बसी गहन रूपमा छलफल गरेको छ ।

जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरामा स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले २०६८ सालमा जुम्लामा यो प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (एनेस्थेसिया) सहायक तर्फका पढाइ सञ्चालन गरिरहेको छ ।

चालु शैक्षिक सत्रमा स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरु गराउन प्रवेश परीक्षा लिइसकेको प्रतिष्ठानले जनाएको छ ।


Loading comments...