लाखौँको भेन्टिलेटर र आइसीयू प्रयोगविहीन


दैलेख। गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो। तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तले भेन्टिलेटर सञ्चालन हुनु खुशीको कुरा भएको तर उनको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुनसकेको छैन । लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन्।

कोरोना सङ्क्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ।

गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन्। मङ्गलबार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो।

दैलेखमा कोरोना सङ्क्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए।

“हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ, तर बचाउन निकै समस्या भएको छ। भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन”, उनले भने।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए।

प्रतिनिधिसभाका तीनवटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताए।


Loading comments...