कोरोना नियन्त्रणमा स्थानीय निकायको आर्थिक भूमिका


जानकारहरू भन्छन् विश्वले कोराना सङ्क्रमणबाट मुक्ति पाउन अझै वर्षौं लाग्न सक्छ। विकसित वा धनी देशहरूले केही वर्षभित्र कोरोना सङ्क्रमण नियन्त्रण गर्न सके पनि निर्मूल भने पार्न सक्तैनन्। कोरोना सङ्क्रमणको भय उनीहरूको पनि शिरमाथि झुन्डिएको तरबारझैं रहिरहने छ। तर आर्थिक सबलताको कारणले कोरोना सङ्क्रमणले गर्ने राष्ट्रिय आर्थिक क्षतिको ती राष्ट्रहरूले न्यूनीकरण भने गर्दै लानेछन्। कोरोना उनीहरूको लागि अति जटिल एवं ज्यादै गम्भीर समस्या भने हुनेछैन।

नेपालजस्तो विकासशील राष्ट्रको लागि भने कोरोना सङ्क्रमण दीर्घकालीन समस्या बन्न सक्छ, जटिल र गम्भीर रहिरहन सक्छ। साधन र स्रोतको अभाव तथा भारतबाट अनियन्त्रित किसिमले हुने नेपाल प्रवेशले गर्दा नेपालले कोरोना सङ्क्रमण छोटो अवधिमा निर्मूल गर्न सक्ने सम्भावना परपरसम्म देखिन्न। नियन्त्रण मात्र गर्न पनि वर्षौं लाग्न सक्छ। त्यसकारण नेपालले स्थानीय एवं सङ्घीय दुवै स्तरमा कोरोना सङ्क्रमणका लागि एउटा दीर्घकालीन स्वास्थ्य एवं आर्थिक नीति निर्माण गर्न अत्यावश्यक छ। सार्थक नीति निर्माणका साथै कार्यान्वयनको नियमित अनुगमन पनि उत्तिकै आवश्यक छ।

लेखकः विश्वराज अधिकारी

अहिले वर्तमानको कुरा गरौं । कोरोना सङ्क्रमण अहिले नियन्त्रण गर्न नसकिनेगरी देशभरि फैलिएको छ। नेपालभरि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार नाघेको छ। नेपालमा अहिले सरदर यो रोगबाट २०० व्यक्तिहरूको मृत्यु भइरहेको छ भनी समाचारहरूले उल्लेख गरेका छन्। विगत २४ घण्टा (जेठ ५ गते) भित्र २४६ जनाले यस सङ्क्रमणको कारण ज्यान गुमाएका छन्। यो अवस्थाले कोरोना सङ्क्रमण दिन प्रतिदिन नेपालमा भयावह बन्दै गएको स्थितिको पुष्टि गर्दछ। विगतमा २४ घण्टमा, यति धेरै व्यक्तिको ज्यान गएको थिएन। यो पहिलो घटना हो।

नेपालमा धेरैले कोरोना सङ्क्रमण नियन्त्रण एवं व्यवस्थापनका लागि अहिले प्रमुख जिम्मेवार सङ्घीय सरकारलाई देखे तापनि यो विशेष परिस्थितिमा भने खास जिम्मेवार भनेको स्थानीय सरकार वा निकायहरू हुन्। कोरोना सङ्क्रमण नियन्त्रण एवं व्यवस्थापन गर्न नगर एवं गाउँपालिकाहरूले महŒवपूणर् भूमिका निर्वाह गर्न सक्छन् र गर्नु पनि पर्छ। पालिकाका जनप्रतिनिधिहरूले यो विशेष परिस्थितिमा महŒवपूणर् भूमिका निर्वाह गर्नुपर्छ।

केवल केन्द्र (सङ्घीय सरकार) को आलोचना गरेर, त्यसको मुख ताकेर वा त्यसलाई प्रमुख जिम्मेवार देखेर समय बर्बाद गर्ने हो भने कोरोना सङ्क्रमणले आफ्नो रौद्ररूपमा झनै विस्तार गर्नेछ। मर्ने नागरिकको सङ्ख्या झनै बढ्दै जानेछ। नेपालजस्तो गरीब र साधनविहीन राष्ट्रको लागि कोरोना सङ्क्रमण नियन्त्रण असम्भव हुँदै जानेछ।

स्थानीय अस्पतालमा शøयाहरूको वृद्धि गर्न, आइसोलेशन केन्द्रहरूको विस्तार गर्न, अक्सिजन आपूर्ति नियमित गर्न, जीवन रक्षा गर्ने औषधिहरूको वितरण सहज पार्न नगर एवं गाउँ पालिकाका जनप्रतिनिधिहरूले विशेष भूमिका खेल्नुपर्छ। गाउँपालिकाका जन प्रतिनिधिहरूले झनै विशेष भूमिका खेल्नुपर्छ किनभने नेपालका प्रायः गाउँ पालिकाहरू केन्द्रमुखी छन्। स्वास्थ्य सुविधाका लागि छेउका शहरमा आश्रित हुन बाध्य छन्। धेरै गाउँपालिकाहरू यस्ता छन् जोसँग बलियो त परको कुरा, सामान्य स्वास्थ्य पूर्वाधारसमेत छैन। स्वास्थ्य सुविधाका लागि गाउँपालिकहरू अहिले पनि धेरै पछाडि छन्। छेउको शहर र केन्द्रप्रति अति निर्भरताले गर्दा गाउँपालिकाहरूको यस्तो स्थिति हुन पुगेको हो। खासमा हरेक गाउँमा एउटा सामान्य अस्पताल र प्रत्येक गाउँपालिकामा एउटा सुविधासम्पन्न अस्पताल हुनुपर्ने हो। अबको यो स्थितिमा स्थानीय स्रोत एवं साधन प्रयोग गरेर गाउँपालिकाहरूले स्थानीय स्तरमा अस्पताल स्थापना गर्न आवश्यक छ। यस कार्यको लागि केन्द्रको मुख ताक्ने परिपाटी त्याग्न आवश्यक छ।

निषेध व्यवस्थाले गर्दा अहिले धेरै परिवारले रोजगार गुमाएको छ। प्रत्येक दिनको आम्दानीले जीवन गुजारा गर्नेहरूको लागि कोरोना सङ्क्रमण अहिले रोगभन्दा भोकले मार्ने शत्रुको रूपमा प्रस्तुत भएको छ। यस्तो स्थितिमा गरीब परिवारको जीवन रक्षा गर्न नगर एवं गाउँपालिकाहरूले खाद्य बैंक’ को स्थापना गरेर त्यस बैकबाट गरीब परिवारको लागि भोजनको व्यवस्था गर्न आवश्यक छ। पालिकाहरूले धनी परिवारबाट खाद्य पदार्थ लिएर खाद्य बैंक बलियो पार्ने हो भने यस किसिमको खाद्य बैंकबाट ती निकायहरूले धेरै गरीब परिवारलाई सहयोग गर्न सक्छन्।

स्थानीय स्रोत एवं साधनको उचित व्यवस्थापन गरेर स्थानीय निकायहरूले राम्रो आयआर्जन गर्न सक्छन्। स्थानीय स्रोत ठेक्कामा सञ्चालन गर्न दिएर तथा स्थानीय कर सङ्कलन गरेर पालिकाहरूले एउटा राम्रो कोष निर्माण गर्न सक्छन् र उक्त कोषको उपयोग हालको परिस्थितिले गर्दा पीडित हुन पुगेका गरीब परिवारलाई सहयोग गर्न सक्छन्।

अहिले कोरोनो सङ्क्रमणको विस्तार रोक्न जति आवश्यक छ, त्यतिकै आवश्यक यस सङ्क्रमणले गर्दा आम्दानीविहीन हुन पुगेका गरीब परिवालाई आर्थिक सहयोग गर्न। मुख्यतः गाउँपालिकाहरूले यसतर्फ गम्भीर भएर सोच्न आवश्यक छ। नेपालका बहुसङ्ख्यक गाउँपालिका गरीब छ। तर अर्को राम्रो कुरा के छ भने गरीब भए तापनि साधन र स्रोतले भने पूणर् छन्। केवल उनीहरूले आफ्ना ती स्रोत साधनको सही पहिचान र प्रभावकारी प्रयोग मात्र गर्न सकेका छैनन्।

प्रकृतिले हरेक स्थानलाई विनाभेदभाव केही न केही महŒवपूणर् स्रोतहरू दिएको नै हुन्छ। अरबका देशहरूमा कृषि राम्रो गरी फस्टाउन नसके तापनि ती देशहरूले प्रकृतिबाट तेल भण्डार प्राप्त गरेका छन्। प्रकृतिले ती देशहरूलाई विश्वका अनेक राष्ट्रमा निर्यात गर्न सक्ने क्षमतासहितको तेल भण्डारहरू दिएको छ। आज ती देशहरूले त्यही तेल भण्डार उपयोग गरेका छन्, धनी भएका छन्। उनीहरूको राष्ट्रिय अर्थव्यवस्था नै तेल आश्रित हुन पुगेको छ।

नेपालका स्थानीय निकाय र मुख्यगरी गाउँपालिकाहरूले स्थानीय स्रोत एवं साधनको प्रयोग गरेर राम्रो आय आर्जन गर्न सक्छन्।

स्थानीय निकायहरूको काँधमा अहिले ऐतिहासिक जिम्मेवारी आएको छ। यो सङ्कटको घडीमा राजनीतिक दलहरूले पनि आफ्ना मत-मतान्तर बिर्सेर एकजुट भई आआफ्नो स्थानमा स्वास्थ्य सेवा विस्तार गर्न जुट्नु आवश्यक छ। हरेक गाउँपालिकामा एउटा सर्वदलीय सन्यन्त्र निर्माण गरेर जनप्रतिनिधिहरू आआफ्नो क्षेत्रमा सक्रिय हुँदै जनसेवामा लाग्न आवश्यक छ। यस्तो गर्न सकिए स्थानीय स्रोत एवं साधनको विकास गरेर बहुसङ्ख्यक नेपालीको ज्यान जोगाउन सकिन्छ, कोरोना सङ्क्रमणसँग लड्न सकिन्छ।

 


Loading comments...